प्रमुख सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको वार्ता निष्कर्षविहीन भएको छ। बिहीबार दिउँसो संसद् भवनमा वार्ता गरेका कांग्रेस र एमालेका शीर्ष नेताहरू साँझ पुनः वार्तामा बसेका थिए ।
दुवै बैठकमा सहभागी कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बालुवाटार बैठकपछि पत्रकारहरूसँग भने, ‘मैले संसद् भवनमा दिउँसो जे भनेको थिएँ, त्योभन्दा थप केही छैन ।’
कार्कीले संसद्लाई व्यवस्थित रूपमा सञ्चालन गर्न छलफल भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको सहयोगमा संसदबाट एमसिसीलाई अनुमोदन गर्न आग्रह गरेका थिए । ओलीले भने पहिले आफ्नो माग पूरा गर्नुपर्ने पुरानै कुरा दोहोर्याएका थिए ।
माग पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने अडान एमाले अध्यक्ष केपी ओलीले राखेका थिए ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमसिसीबारे सैद्धान्तिक छलफल हुने कार्कीले जानकारी दिए । उनले भने, ‘एमसिसीलाई निष्कर्षमा पुर्याउनुपर्नेछ ।’ एमाले नेताहरू भने प्रतिक्रिया नदिई बालुवाटारबाट बाहिरिएका छन् ।
वार्तामा कांग्रेसको तर्फबाट प्रधानमन्त्री तथा पार्टी सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए । एमालेबाट अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए ।
यसअघि संसद् भवनमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बिहीबार दिउँसो वार्ता भएको थियो । एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच पनि बिहीबार दिउँसो संसद् भवनमा छलफल भएको थियो ।