परराष्ट्र मन्त्रालयले युक्रेनमा बसोवास गर्ने वा भ्रमणमा जाने नेपालीहरूका लागि ट्राभल एड्भाइजरी जारी गर्दै अतिआवश्यक नभएकालाई स्वदेश फर्किन आह्वान गरेको छ । अतिआवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न पनि परराष्ट्रले आग्रह गरेको छ ।
‘जरुरी सूचना’ भन्दै परराष्ट्रद्वारा बुधबार जारी एड्भाइजरीमा भनिएको छ, ‘युक्रेनमा रहनुभएका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गर्नु भई अतिआवश्यक परी त्यहीँ रहनुपरेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ ।’
युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काका अनुसार त्यहाँ रहेका ३८ जनाभन्दा बढी नेपाली नागरिक सम्पर्कमा छन् । जसमध्ये अधिकांशले युक्रेनको नागरिकता लिएका छन् । अस्थायी रूपमा त्यहाँ पुगेका नेपाली नागरिकको संख्या करिब एक सय ५० छ ।
परराष्ट्रका अनुसार युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सबै सकुशल छन् । पूर्वी युक्रेनमा कोही पनि नेपाली नागरिक नभेटिएको राजदूत खड्काले जानकारी दिए । ‘पूर्वी युक्रेनमा नेपालीहरू छैनन् भन्ने छ । त्यहाँबाट कम्तीमा पनि २७० किलोमिटर वर रहेका खार्कोभ, ओडेसोलगायतका क्षेत्रमा केही नेपाली छन्, त्यहाँको अवस्था शान्तिपूर्ण छ,’ राजदूत खड्काले टेलिफोनमा भने । रुसीबाहुल्य पूर्वी युक्रेनका लुहान्स्क र दोनेत्स्क क्षेत्रलाई रुसले अलग देशको मान्यता दिँदै त्यस क्षेत्रमा सेना परिचालन गर्न आदेश दिएपछि रुस र युक्रेनबीच तनाव बढेको छ ।