एमाले कसैले हराउन नसक्ने योद्धा हो : अध्यक्ष ओली

बुधबार, ११ फागुन, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन्। अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै फेरि निर्वाचनको माध्यमबाट सरकारमा आउने दाबी गरे। 

आफ्नो ७१औँ जन्मदिनको अवसर पारेर बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको बताए। अध्यक्ष ओलीले आफूहरूले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको आरोपसमेत लगाए। 

‘यदि एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिँदैन। एउटै सर्त मात्रै उसलाई हराउन सकिन्छ, उसलाई जमिनबाट छुटायो भने। अथवा जमिनबाट माथि उठायो भने। तर जमिन छुन पायो कि ऊ बलियो हुन्छ। अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतबाट चारजना न्यायाधीशले नै पछार्दो रहेछ एमालेजस्तो पार्टीलाई। तर उचालेको उचाल्यै कहाँ हुन्छ ? हामी जमिनमा छोइहाल्छौँ, टेकी हाल्छौँ। जनतासँग एकाकार भइहाल्छौँ। नेकपा एमाले फेरि आउँछ,’ उनले भने।

अध्यक्ष ओलीले आफ्नो बाँकी जिन्दगी सम्पूर्ण रूपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस अवसरमा उनले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेता, कार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गरे। कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गरेका विचारहरूको संगालो ‘समवेत दृष्टि’  नामक पुस्तक पनि विमोचन गरिएको थियो।
 

सुझावित समाचार