ज्योति विकास बैंकले शिशुवा अस्पताललाई दियो बेबी वार्मर

बुधबार, ११ फागुन, २०७८
डिजिटल संस्करण

ज्योति विकास बैंकले पोखरा महानगरपालिकामा रहेको शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।

अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्रका प्रमुख विशाल लामिछाने र तालचोक शाखा प्रबन्धक सागरमणि भण्डारीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नारायण ओझालाई बेबी वार्मर हस्तान्तरण गरेका थिए । कार्यक्रममा अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालनसम्बन्धी तालिम पनि प्रदान गरिएको बैंकले जनाएको छ । 

बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको जनाएको छ । १३औँ वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरूलाई हस्तान्तरण गर्ने सहकार्यका लागि केन्द्रको ‘न्यानो नानी’ परियोजना–२ का लागि सहयोग प्रदान गरेको बैंकले जनाएको छ । बैंकले हाल एक सय ११ शाखा, एक एक्सटेन्सन काउन्टर तथा ६२ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ । 

सुझावित समाचार