पत्रकार पाण्डे एक सातादेखि अबुधावीको जेलमा

बुधबार, ११ फागुन, २०७८
डिजिटल संस्करण
पत्रकार पाण्डे एक सातादेखि अबुधावीको जेलमा

दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे

दूतावासकै कर्मचारीले उजुरी दिएर आफूलाई फसाउन खोजिएको पाण्डेको दाबी

दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे एक सातादेखि अबुधाबीको जेलमा छन् । दुबई प्रहरीले पक्राउ गरी उनलाई अबुधाबीस्थित अल वाथ्बा जेलमा राखेको परिवारका सदस्यले बताएका छन् । करिब एक दशकदेखि युएईमा बस्दै आएका अर्घाखाँचीका पाण्डेलाई ३ फागुनमा युएईको प्रशासनले हिरासतमा लिएको थियो । युएईस्थित नेपाली दूतावासका कर्मचारीले दायर गरेको साइबर अपराध मुद्दाअन्तर्गत आफूलाई पक्राउ गरिएको उनले हिरासतकक्षबाटै परिवारका सदस्यलाई जानकारी दिएका छन् । 

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पाण्डेविरुद्ध साइबर अपराध लगाइएको आफूहरूले थाहा पाएको बताए । ‘उमाकान्त पाण्डे सात दिनदेखि दुबई प्रहरीको हिरासतमा छन् । परिवारका सदस्यसँग बुझ्दा उनीविरुद्ध साइबर अपराधअन्तर्गत मुद्दा लगाइएको सूचना छ । दूतावासकै उजुरीपछि पक्राउ गरेको परिवारका सदस्यले जानकारी दिएका छन्,’ उनले भने । पुरीले पाण्डेको अवस्था बुझ्न महासंघले केन्द्रीय सदस्य सुनिल खड्कालाई पठाएको र उनले नेपाली राजदूत तथा नेपालको परराष्ट्र मन्त्रालयसँग कुराकानी गरेको बताए । पाण्डे बुधबार जेलबाट छुट्न सक्ने उनको भनाइ छ ।

पारिवारिक स्रोतका अनुसार पाण्डेलाई युएईको प्रशासनले ३ फागुनमा फोन गरी कार्यालय बोलाएको थियो । सोहीअनुसार पाण्डे प्रशासन कार्यालय पुगेका थिए । त्यसलगत्तै बेपत्ता भएका उनी ४ फागुनमा परिवारका सदस्यसँग सम्पर्कमा आएका थिए । टेलिफोनमार्फत सम्पर्कमा आएका उनले आफू अबुधाबीको अल वाथ्बा जेलमा रहेको जानकारी दिँदै ‘दूतावासले मुद्दा फिर्ता लिएमा आफू छुट्ने, नत्र डिपोर्ट हुन सक्ने’ बताएका थिए । पाण्डेका श्रीमती र एक छोरा युएईमै छन् ।

पाण्डेले केही समयअघि दूतावासको विषयमा सामाजिक सञ्जालमा दूतावासमार्फत भिजिट भिसाको प्रोत्साहन भएको र दूतावासभित्र हुने गरेका गलत कुराहरूको आफूसँग प्रमाण रहेको लेखेका थिए । त्यसपछि दूतावासका कर्मचारी र पाण्डेबीच लामो बहस र चर्काचर्की भएको थियो । 

युएईका लागि नेपाली राजदूत कृष्ण ढकालले बाहिर आएजस्तो पत्रकार उमाकान्त पाण्डेविरुद्ध  दूतावासले कुनै पनि मुद्दा दर्ता नगरेको दाबी गरे । पाण्डेको विषयमा जानकारी आएपछि दूतावासले निरन्तर उनको खोजी गरिरहेको बताए । युएईको विदेश मन्त्रालयमा सम्पर्क भएको र अनुसन्धानका क्रममा भएकाले पूर्ण विवरण पाउन नसकेको ढकालको भनाइ छ ।नेपाली दूतावासविरुद्ध लेखेको भनेर मुद्दा हालेर पत्रकार पाण्डेलाई नेपाल फर्काउन लगेको हो भन्ने नयाँ पत्रिकाको प्रश्नमा राजदूत ढकालले भने, ‘उमाकान्तजीको विषयमा दूतावासले निरन्तर खोजी गरेको छ । मुद्दाको वास्तविकता थाहा हुन सकेको छैन । युएईमा रहेर पत्रकारिता गरेकै आधारमा  कोही नेपाली डिपोर्ट हुँदैन । त्यसो भएमा मलाई पदमा बस्ने अधिकार हुँदैन, म राजीनामा दिन्छु । छिट्टै वास्तविकता  बाहिर आउनेछ ।’

नेपालको परराष्ट्र मन्त्रालयले भने पाण्डे पक्राउको सम्बन्धमा गैरजिम्मेवार ढंगले जवाफ दिएको छ । मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पाण्डे पक्राउ सम्बन्धमा आफूलाई जानकारी नभएको र अवश्यक परे युएई दूतावासमै सोध्न सुझाव दिइन् । ‘मलाई पाण्डे पक्राउको सम्बन्धमा केही थाहा छैन, महामहिम उतै हुनुहुन्छ सोध्नुस्,’ उनले भनिन् ।

सुझावित समाचार