टी–२० विश्वकपको छनोटबाट नेपाल बाहिरियो

१७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा सबै विकेट गुमाउँदै १०७ रनमा सीमित

बुधबार, ११ फागुन, २०७८
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोतिगा खेल्ने नेपालको सपना अपुरै भएको छ । ओमानमा जारी आइसिसी टी–२० विश्वकप ग्लोबल क्रिकेट प्रतियोगिताको छनोटअन्तर्गत मंगलबार युएईसँग ६८ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरो बनेको हो । नेपालले पहिलोपल्ट सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।  प्रतियोगिताको फाइनल पुग्ने दुई टोली अक्टोबर र नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा सीधै पुग्ने प्रावधान थियो ।

ग्लोबल छनोटबाट युएई र आयरल्यान्ड विश्वकपमा पुगेका छन् । दुवै टोलीले फाइनल स्थान सुरक्षित गर्दै विश्वकपको टिकट काटेका हुन् । आयरल्यान्डले आयोजक ओमानमाथि सानदार जित निकाल्यो । समूह बीमा तीनवटै खेलमा सानदार प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा समूह बीको उपविजेता युएईविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गरेको थियो । ओमानको अल अमेरात रंगशालामा मंगलबार युएईले पहिलो ब्याटिङ गर्दै सात विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो ।

एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर एक सय सात रन मात्र बनाउन सक्यो । यो नजितासँगै नेपालको विश्वकप खेल्ने सबै आशा समाप्त भयो । युएईसँग पराजित हुनुको पछाडि नेपाली ब्याट्सम्यानहरूको खराब ब्याटिङ प्रदर्शन नै थियो । लक्ष्य पछ्याएको इनिङ्सको पहिलो ओभरमै नेपालले दुई मुख्य ब्याट्सम्यान आउट भए । ओपनर आसिफ सेख र युवा ब्याट्सम्यान लोकेश बम शून्य रनमै आउट भए । दुवै ब्याट्सम्यानलाई जुनिद सिद्दिकीले इनिङ्सको चौथो र पाँचौँ बलमा आउट गरे । 

फितलो ब्याटिङ
सुरुवातै धरमराएको ब्याटिङमा कुशल भुर्तेल ३.४ ओभरमा पेभेलियन फर्केपछि नेपाल थप समस्यामा परेको थियो । कुशललाई जुनिदले नै पेभेलियन पठाए । फर्ममा रहेका दीपेन्द्रसिंह ऐरी आरिफ सेखले चौथो विकेटका लागि ३६ रनको साझेदारी गर्दै नेपाललाई ७.१ ओभरमा ५० रनको स्थितिमा राखे । आरिफ रोहन मुस्ताफाको ओभरमा ११ रनमा आउट भए । मध्यक्रममा ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंहबीच गतिलो साझेदारी हुँदा नेपालको फाइनल पुग्ने आशा पलायो । पूर्वकप्तान मल्लले आफ्नो विकेट म्यानअफ दी म्याच अहमेद राजालाई दिए । 

चालू सिरिजमा पहिलोपटक गतिलो ब्याटिङ गरेका मल्लले १६ बल सामना गरी सामान एक चौका र छक्का प्रहार गरी २० रन बनाए । इनिङ्सको १२.५ ओभरमा दीपेन्द्रसिंह आउट भएपछि नेपालको सबै आशा समाप्त भयो । दीपेन्द्रले ३८ बलमा तीन चौका प्रहार गरी सर्वाधिक ३८ रन जोडे । राजाले लगातार दुई बलमा ज्ञानेन्द्र र दीपेन्द्रसिंहलाई आउट गरेपछि नेपाल ८३–६ को कमजोर स्थितिमा पुग्यो । त्यसपछि युएईले खेलमा पूर्ण पकड जमायो । पुछारका पाँच ब्याट्सम्यानले दोहोरो रन नै बनाउन नसक्दा नेपाल एक सय सात रनमै समेटियो । युएईको बलिङमा अहमेद राजा नायक भए । उनले चार ओभरमा १९ रन खर्चेर पाँच विकेट लिए । नेपाललाई सुरुवातमै समस्यामा परेका युएईका बलर जुनिद सिद्दीकीले घातक बलिङ गर्दै २७ रन खर्चेर तीन विकेट लिए । 

जितेन्द्र र अविनाशले दिए ८१ रन
समूह बीमा तीनवटै खेलमा सानदार जित हात पार्दा नेपालको बलिङ उत्कृष्ट थियो । ओमान, फिलिपिन्स तथा क्यानडालाई अलआउट पारेको नेपालले युएईविरुद्ध भने यही प्रदर्शन गर्न सकेन । नेपाली बलरले युएईविरुद्ध अन्यन्तै खराब प्रदर्शन गरे । जितेन्द्र मुखिया र अविनाश बोहराले समान तीन विकेटको प्रदर्शन गरे पनि दुवै बलर निकै खर्चिले देखिए । दुवै बलरले समग्रमा सात ओभरमा ८१ रन खर्चेका थिए । यसैगरी आरिफ सेखले दुई ओभरमा २० रन दिए । कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र दीपेन्द्रसिंह मात्र किफायती बलर देखिए । दीपेन्द्रसिंहले तीन ओभरमा १८ रन दिए । सन्दीपले २४ रन खर्चेर एक विकेट लिए । 

बलियो साझेदारी
अविनाशले १.४ ओभरमा फर्ममा रहेका ब्याट्सम्यान चिराग सुरीलाई चार रनमा आउट पार्दैै नेपाललाई उत्कृष्ट सुरुवात दिलाउन सफल भए । मुहमद वासिमले लगातार दुई विकेटका लागि बलियो साझेदारी गर्दै युएईलाई खेलमा फर्काए । वासिमले अरविन्दसँग दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरी टोलीलाई ७.३ ओभरमा ७२–२ को स्थितिमा राखे । सन्दीपको ओभरमा बोल्ड आउट हुनुअघि अरभिन्दले २३ बलमा तीन छक्का र पाँच चौकाको सहयोगमा ४६ रनको विस्फोटक इनिङ्स खेले । 

वासिमले मुहमद उस्मानसँग तेस्रो विकेटका लागि ६४ रनको अर्को उत्कृष्ट साझेदारी गरी युएईलाई १६.१ ओभरमा युएईलाई १३६–३ को बलियो स्थितिमा राखे । उस्मानले १७ रन जोडे । अभिनाशले एकै ओभरमा उस्मान र वासिमको विकेट लिँदै नेपाललाई खेलमा फर्काउने प्रयास गरे । वासिमले ४८ बलमा समान चार चौका र चार छक्का प्रहार गरी सर्वाधिक ७० रन बनाए । 

आयरल्यान्डसँग ओमान पराजित
मंगलबार नै भएको अर्को सेमिफाइनलमा आयरल्यान्डले ओमानलाई ५६ रनले हराउँदै विश्वकपका लागि छनोट भएको हो । पहिलो ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । आयरल्यान्डका लागि गेराथ डेलानीले ३२ बलमा ४७ रन जोडे । यसैगरी एन्डी म्याकव्रिनले २१ बलमा ३६ रन बनाए । मध्यक्रमका ह्यारी हेक्टरले ३५ रन बटुले । घरेलु टोली ओमान १८.३ ओभरमा एक सय नौ रनमा अलआउट भयो । ग्लोबल क्वालिफायरको फाइनलमा युएई र आयरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । 

सुझावित समाचार