विश्वकपमा पुग्न नेपालले आज युएईलाई हराउनैपर्ने

क्यानडामाथि आठ विकेटको जित निकालेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । फाइनलमा स्थान सुरक्षित गर्न समूह एको उपविजेता युएईविरुद्ध आज प्रतिस्पर्धा गर्दै छ । युएईलाई हराउँदा नेपाल सन् २०१४ पछि दोस्रोपटक टी–२० विश्वकपमा पुग्नेछ ।

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा दोस्रोपटक स्थान सुरक्षित गर्न नेपाल एक खेलबाट टाढा छ । ओमानमा चलिरहेको आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले मंगलबार सेमिफाइनलमा युएईविरुद्ध प्रतिस्पर्धा गर्दै छ । युएईलाई पाखा लगाएर फाइनल स्थान बनाउँदा नेपाल विश्वकपमा पुग्नेछ । र, सन् २०१४ पछि टी–२० विश्वकप खेल्ने नेपालको सपना पूरा हुनेछ । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपाल छनोट भएको थियो । यदि युएईसँग पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना तुहिनेछ । युएई विश्वकपमा पुग्नेछ । 

ग्लोबल छनोटको फाइनलमा पुग्ने दुई टोली विश्वकपमा पुग्ने प्रावधान छ । नेपाल समूह बीमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । नेपालले सोमबार सन् २०११ को एकदिवसीय खेलेको क्यानडामाथि आठ विकेटको सानदार जित निकाल्दै समूह बीको विजेताका रूपमा अन्तिम चारमा स्थान पक्का गरेको हो । युएई समूह एको उपविजेताका रूपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । 

समूह बीमा तीनमा जित निकालेको नेपालले सर्वाधिक ६ अंक जोड्यो । युएईले तीन खेलमा दुई जित र एक हारको सामना गरी चार अंक जोड्यो । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनको विशाल अन्तरले हराएको थियो । युएईले आयरल्यान्डलाई १८ रन र जमर्नीलाई २४ रनले हराएको थियो । युएई बहराइनसँग दुई रनले पराजित भए पनि नेटरनरेटमा माथि नै रह्यो । अर्को सेमिफाइनलमा समूह बीको उपविजेता र समूह एको विजेता आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ नेटरनरेटमा युएई बहराइनलाई निराश पार्दै समूह एको उपविजेता बनेको हो । 

क्यानडा ८० रनमा अलआउट
ओमानको अल इमेरात मैदानमा पहिलो ब्याटिङ गरेको क्यानडा १५ ओभरमै ८० रनमा समेटियो । क्यानडालाई सस्तै रनमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका थिए । उनले चार ओभरमा केवल १२ रन खर्चेर तीन विकेट लिए । यसैगरी कमलसिंह ऐरीले १६ रनमा दुई  तथा अविनाश बोहराले सात रनमा दुई विकेट लिँदा क्यानडाको बलियो ब्याटिङ ध्वस्त भयो । नेपालका लागि थप एक विकेट कुशल मल्लले लिएका थिए ।  

क्यानडाले इनिङ्सको पाँचौँ बलमै विकेट गुमाएको थियो । कमलले म्याथ्यु सापुर्सलाई सामना गरेको तेस्रो बलमै कुशल मल्लबाट क्याच आउट गराए । त्यसपछि रियान पठान र कप्तान नवनित धलिवालले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए । धलिवाल कमलकै ओभरमा आउट भए । सन्दीप, अविनाश र कमलले धारिलो बलिङ गरेपछि क्यानडा एकैपटक ३७–३ बाट ४८–९ को कमजोर अवस्थामा पुग्यो । क्यानडाले १३ रनको अन्तरमा सात विकेट गुमाएको थियो । जुनिस सिद्दिकी आउट हुँदा क्यानडा १०.१ ओभरमा ४८–९ को अवस्थामा थियो । त्यसपछि दशौँ क्रमका हेलिगेर र ११औँ क्रमका ब्याट्सम्यान सलमान नाजिरले अन्तिम विकेटका लागि ३२१ रनको साझदोरी गर्दै क्यानडालाई ८०–१० को स्थितिमा राखे । हेलिगेरले २२ बलमा दुई छक्का र एक चौका प्रहार गरी २४ रन तथा नाजरले १० रन बनाए । 

३५ बलअघि नेपाल विजयी
लक्ष्य पछ्याएको नेपालले १४.१ ओभरमा दुई विकेटको क्षतिमा जित निकाल्यो । नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । सेखले १६ बलमा समान एक चौका र छक्का प्रहार गरी १७ रन बनाए । भुर्तेल र दीपेन्द्रसिंह ऐरीबीच ५१ रनको अविजित साझेदारी भयो । दुवैले धैर्यतापूर्वक ब्याटिङ गरेर नेपाललाई सानदार जित दिलाए । भुर्तेलले ३७ बलमा तीन चौकाको सहयोगमा ३४ रन जोडे । उत्कृष्ट फर्ममा रहेका दीपेन्द्रसिंहले ३१ बल साना गरी तीन चौका प्रहार गरी २७ रन बनाए ।

सुझावित समाचार