नेपालगन्ज उपमहानगरपालिका– २२, किंगरियनपुर्वाकी २२ वर्षीया कुस्नुमा किंगरियाको काखमा सात महिनाको छोरो छ । घरधन्धा, छोराको लालनपालनमा व्यस्त रहने उनी फुर्सदको समयमा पढ्न र लेख्न सिक्छिन् । भाइबहिनीको स्याहारसुसारमा उनको बाल्यकाल बित्यो । त्यसैले उनले पढ्ने मौका पाइनन् । ‘साथीभाइ विद्यालय गएको देख्दा जान मन लाग्थ्यो, तर भाइबहिनीको स्याहारसुसार र घरधन्धाले पढ्ने मौका जुरेन,’ उनले भनिन्, ‘उपमहानगरले साक्षरता कक्षा सञ्चालन गरेपछि पढ्ने अवसर पाएँ ।’ उनी उपमहानगरले दिएको अभ्यासपुस्तिकामा अक्षर लेख्ने अभ्यास गर्छिन् । सात महिनाको छोरो बोकेर साक्षरता कक्षामा सहभागी हुन्छिन् ।
साक्षर नभए उपमहानगरले दिने सेवासुविधा कटौती गर्ने नीति बनाएपछि साक्षरता कक्षामा सहभागी भएको उनले बताइन् । ‘पढ्न, लेख्न नजान्ने हो भने पछाडि परिने रहेछ । पढ्न, लेख्न नजान्नेलाई सबैले हेप्दा रैछन्,’ उनले भनिन्, ‘हिजो अवसर नपाएर पढ्न पाइएन । आज अवसर जुरेको छ । बाबुलाई काखी च्यापेर भए पनि पढ्न सिक्दै छु ।’सोही ठाउँकी १९ वर्षीया शिबुन किंगरिया पनि साक्षरता कक्षामार्फत साक्षर बन्ने अभियानमा छिन् । यसअघि उनी सावाअक्षर चिन्दैनथिन् । तर, अहिले उनी पढ्न र आफ्नो नाम लेख्न सक्ने भएकी छन् । उनले साक्षर बनाएर उपमहानगरले ठूलो गुण लगाएको बताइन् । ‘औँठाछाप (ल्याप्चे) लगाउँदा अरूको हेपाइ खेप्नुपर्यो । अब यस्तो हेपाइ खेप्नुपर्दैन,’ उनले भनिन्, ‘अब त म पनि साक्षर भएँ । चिठीपत्र आए वा मोबाइलमा म्यासेज आए आफैँ पढ्न सक्छु । आफ्नो गोप्य कुरा अरूलाई देखाउन नपर्ने भयो ।’
किंगरियनपुर्वाकी यास्मिन बानोको अनुहार अहिले उज्यालो भएको छ । सामान्य लेखपढ गर्न जान्ने भएपछि उनको अनुहारमा खुसी देखिएको हो । बालबच्चाको रेखदेखमै दिन बिताउने उनी अहिले ६ महिनाकी छोरी लिएर साक्षरता कक्षा पुग्छिन् । ‘घरको सबै कामधन्धा भ्याएर साक्षरता कक्षामा सहभागी हुन्छु,’ उनले भनिन् ।आगामी फागुन मसान्तभित्र नेपालगन्जलाई साक्षर घोषणा गर्ने अभियानमा उपमहानगरले विभिन्न स्थानमा साक्षरता कक्षा सञ्चालन गरेको छ ।
विद्यालय जान नपाएर साक्षर हुन नपाएकालाई उपमहानगरले साक्षर बनाउने अभियान थालेको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए । उनले टोल–टोलमा साक्षरता कक्षा सञ्चालन गरिएको बताए । आगामी फागुन महिनाभित्र नेपालगन्जलाई साक्षर नगर घोषणा गर्ने कार्यक्रमको तयारी तीव्र पारिएको उनले बताए । ‘स्वास्थ्यका मापदण्ड अपनाएर ०७८ फागुनभित्र कक्षा सकिने गरी अभियान थालिएको छ,’ उनले भने ।
शिक्षा पाउन नसकेका टोलबस्तीको छनोट गरी विशेष कक्षा सञ्चालन गरिएको उपमेयर उमा थापामगरले बताइन् । विपन्न, लोपोन्मुख तथा सीमान्तकृत समुदायलाई लक्षित गरी साक्षरता अभियान थालिएको उनको भनाइ छ । ‘किंगरिया, मगन्ता, कुच्बधिया, चिडिमारलगायतका लोपोन्मुख, विपन्न र सीमान्तकृत समुदायलाई साक्षरता कक्षामा अनिवार्य सहभागी गराउने गरी साक्षरता कक्षा सञ्चालन गरेका छाैँ,’ उनले भनिन् ।
नेपालगन्ज उपमहानगरका १५ हजारलाई साक्षर बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको उनले बताइन् । यसका लागि उपमहानगरका प्रारम्भिक बालविकास केन्द्रका शिक्षिकालाई साक्षरता कक्षा सञ्चालनको जिम्मा दिइएको छ । ‘नेपालगन्जका एक सय ३० स्थानमा साक्षरता कक्षा सञ्चालनमा ल्याइएको छ,’ उनले भनिन् ।