मोरङको केराबारीमा आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। केरावारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्या गरेको आरोपमा केराबारी–३ का ३५ वर्षीय कमल लिम्बूलाई प्रहरीले शव बरामद भएको २८ दिनपछि पक्राउ गरेको हो।
९ माघमा केराबारी–८ स्थित साझेदारी वनक्षेत्रभित्रको सखुवाको रुखको जरामुनि २७ पुसदेखि हराइरहेका बाबुरामको शव कुहिएको अवस्थामा फेला परेको थियो। घाँसदाउरा गर्न जंगल गएका मानिसहरूले मानिसको कुहिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
मोरङका एसपी जर्नादन जिसीका अनुसार स्थानीय लोकल बसमा सहचालकको काम गर्ने उनीहरू दुवैजना साथी थिए। मादकपदार्थ सेवन गर्ने क्रममा महिलाको विषयमा विवाद भएको थियो। सोही आवेगमा लिम्बूले रडले हानेर बाबुरामको हत्या गरेका थिए। बसमा सहचालकको काम गर्ने बाबुराम गाउँमा लाग्ने मेला हेर्न घरबाट हिँडेका थिए।