‘संघले अधिकार नदिँदा काम गर्न समस्या भयो’

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारले अधिकार हस्तान्तरण नगर्दा प्रदेश सरकारलाई काम गर्न समस्या भएको बताएका छन् । ७२औँ प्रजातन्त्र दिवसका अवसरमा धनगढीमा आयोजित कार्यक्रममा उनले संविधानले दिएका साझा अधिकार प्रदेशले अहिले पनि प्रयोग गर्न नपाएको गुनासो गरे । साझा अधिकारका विषयमा संघीय सरकारले कानुन नबनाउँदा समस्या भएको उनको भनाइ छ ।

‘संविधानले तीनै सरकारलाई एकल अधिकार र साझा अधिकारहरू दिएको छ । साझा अधिकारका कानुन नबन्दा काम गर्न अहिले पनि असहज भएको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘प्रहरी समायोजन अहिलेसम्म हुन सकेको छैन । संघीय निजामती ऐन नआएकाले हामीलाई कर्मचारी भर्नामा अप्ठ्यारो भइरहेको छ ।’ अहिले पनि एकात्मक सोचले काम गरिरहेकाले प्रदेशलाई समस्या भएको उनले बताए । 

एकात्मक सोचको अन्त्य नभएसम्म आमनागरिकलाई सेवा र सुविधा दिन समस्या हुने मुख्यमन्त्री भट्टको भनाइ छ । नागरिकको चाहना सहज सेवा र छिटो विकास होस् भन्ने रहे पनि कतिपय अधिकार प्रयोग गर्न नपाउँदा प्रदेशले नागरिकको चाहनाअनुसार काम गर्न नसकेको उनले बताए । प्रदेशमा कर्मचारी सरुवामा संघीय सरकारले मनलाग्दी गर्ने गरेको भन्दै उनले आक्रोश पोखे ।

‘प्रदेश सरकारमा, हाम्रा मन्त्रालयमा प्रशासनिक प्रमुखहरू कतिखेर आउँछन्, कतिखेर जान्छन्, हामीलाई थाहा हुँदैन,’ भट्टले भने, ‘संघीय सरकारलाई मन लाग्यो भने फेरबदल गरिदिने, मन लाग्यो भने राखिदिने, कसैलाई वर्षाैंसम्म पनि सुविधामा नलगेर जाने, कसैलाई निर्णय गरेर पनि पठाउन नसक्ने लाचारीपना देखिएको छ ।’ यस्तो प्रवृत्तिले संघीयता कमजोर हुने उनले बताए । ‘यसले गर्दा संघीयताप्रति एउटा प्रश्न उठिराखेको छ । यसको आफ्नो कार्यकाल पूरा नहुँदै यसबारेमा समीक्षा सुरु भएको छ,’ मुख्यमन्त्री भट्टले भने ।

सुझावित समाचार