कुशल भुर्तेलको शतकीय इनिङसँगै नेपालले आइसिसी टी–२० विश्वकपको दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ । जितसँगै नेपाल सेमिफाइनलनजिक पुगेको छ ।छनोटअन्तर्गत समूह ‘बी’मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । समूहको दोस्रो स्थानमा रहेको क्यानडा र तेस्रो स्थानमा रहेको ओमानले समान दुई खेलमा दुई अंक जोडेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
सोमबार हुने समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध जित निकाले नेपाल समूह विजेता बन्नेछ । समूह विजेता बने सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।सेमिफाइनलमा पनि जित निकाले नेपाल दोस्रो पटक टी–२० विश्वकपमा पुग्नेछ । यसअघि नेपाल सन् २०१४ मा टी–२० विश्वकप पुगेको थियो । जसमा समूह चरणको तीन खेलमध्ये दुईमा जित र एकमा हारको नतिजा आत्मसात् गरेको थियो । ओमानको मक्सटस्थित अल अमेरतमा भइरहेको खेलमा नेपालले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ८२ रन मात्र जोड्न सक्यो ।
फिलिपिन्सका ओपनर ड्यानियल स्मिथले सर्वाधिक २० रन बनाए । यस्तै, जोर्डन अलेग्राले १८ कप्तान जोनाथन हिलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरको उल्लेख्य प्रदर्शन रहेन ।
सन्दीपको तीन विकेट
नेपालका कप्तान सन्दीप लामिछानेले सार्वधिक तीन विकेट लिए । किफायती बलिङ गरेका सन्दीपले चार ओभरमा मात्र नौ रन खर्चिए । यसबाहेक गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।
कुशलको अविजित शतक
कुशल भुर्तेलको शानदार अविजित शतकका कारण नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ । फिलिपिन्सविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएका कुशलले ६१ बलमा १३ चौका र एक छक्कासहित १०४ रनको अविजित इनिङ खेले । उनी टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो नेपाली क्रिकेटर बनेका छन् । यसअघि पूर्वकप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।
कुशलले टी–२० अन्तर्राष्ट्रियको सात इनिङ्समा ४०२ रन पूरा गरेका छन् । उनी सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा छन् । पारस खड्काले ३३ खेलबाट ७९९ रन बनाएका छन् भने ज्ञानेन्द्र मल्लले ३७ खेलमा ७२८ र दीपेन्द्रसिंह ऐरीले ३१ खेलमा ७१३ रन जोडेका छन् ।
फिलिपिन्सविरुद्धको खेलमा दीपेन्द्र ४७ बलमा ६ चौका चार छक्कासहित ८३ रन बनाएर पेभेलियन फर्के । यस्तै, पहिलो बलमै छक्का प्रहार गरेका लोकेश बम तीन बलमा ६ रन बनाएर अविजित रहे ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१८ रनको योगफल तयार गरेको थियो । दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल मल्ल पनि १२ रन बनाएर पेभेलियन फर्केका थिए । यद्यपि, तेस्रो विकेटका लागि ओपनर कुशल र दीपेन्द्रसिंह ऐरीले १७१ रनको कीर्तिमानी साझेदारी गर्दै ठूलो योगफलतर्फ डो¥याए । फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रको यो साझेदारी टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा ठूलो हो ।