अत्तरियाको सत्यवती एकेडेमीले शुक्रबार धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा लम्कीको गुरुकुल स्कुललाई एक सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । संघीय प्रहरीको खेल मैदानमा पहिलो ब्याटिङ गरेको सत्यवतीले १९.४ ओभरमा सबै विकेट गुमाएर दुई सय नौ रनको विशाल योगफल खडा गरेको थियो ।
प्रत्युत्तरमा दुई सय १० रन पछ्याएको गुरुकुलले ५६ रनमै समेटियो । सत्यवतीको ब्याटिङमा सन्तोष कार्की र सन्दीप खत्रीले आक्रामक इनिङ्स खेलेका थिए । ३९ बल सामना गरेका सन्तोषले आठ छक्का र पाँच चौकाको मद्दतमा ८० रन बनाए । सन्दीप खत्रीले ६ छक्का र ४ चौकाको सहयोगमा ८० रन जोडे ।
यसैगरी सुजन गौतमले २७ बलमा ४५ रन बनाए । गुरुकुलका दिनेश अधिकारी, जानु कस्गर र विशाल विक्रम केसीले समान दुई विकेट लिए । गुरुकुलका कुनै पनि ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन । सिराज बागवानले २६ रन र समिर रानाले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
गुरुकुललाई सस्तैमा समेट्न सत्यवतीका युवराज खत्रीले तीन विकेट हात पारे । आदिल अन्सारी र सुजन गौतमले समान दुई विकेट लिए । खेलमा सन्तोष कार्की म्यानअफ दी म्याच घोषित भए । अर्को खेलमा सैनिक आवासीय महाविद्यालय तेघरी होलिल्यान्डसँग ५ विकेटले पराजित भयो । टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनायो । सैनिकका लागि खडक बोहराले पाँच चौका र चार छक्काको मद्दतमा ५१ बलमा ६९ रन बटुले । प्रज्वल थापाले ५१ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाए ।
होलिल्यान्डका बलर जित साउँदले तीन, सञ्जय बोहराले दुई र अविनारायण कोइरालाले एक विकेट लिए । एक सय ५८ रन पछ्याएको होलिल्यान्डले १७.५ ओभरमा पाँच विकेट गुमाएर जित निकाल्यो । होलिल्यान्डका लागि दीपक टमाटाले १८ बलमा पाँच चौका र चार छक्काको आक्रामक इनिङ्स खेल्दै ४९ रन बनाए ।
कृष्ण भट्टले ४२ बलमा नटआउट ४२ रन जोडे । गजेन्द्र बोहराले २० रन, अविशेक पालले १९ रन र राज विश्वकर्माले १० रन बनाए । बलिङतर्फ सैनिकका खडक बोहराले दुई विकेट लिए । खेलमा होलिल्यान्डका कृष्ण भट्ट म्यान अफ दी म्याच भए ।