एमसिसी गलत छनोट थियो भन्ने घटनाक्रमले पुष्टि गर्छ : टंक कार्की

शनिबार, ७ फागुन, २०७८
डिजिटल संस्करण
एमसिसी गलत छनोट थियो भन्ने घटनाक्रमले पुष्टि गर्छ : टंक कार्की

टंक कार्की, पूर्वराजदूत

एमसिसीको मुद्दामा चीनले दिएको प्रतिक्रियालाई कसरी बुझ्ने ?
चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले आफ्नो भू–रणनीतिक लक्ष्य हासिल गर्नका निम्ति विवाद ल्याउन प्रयास गरिरहेको प्रतिक्रिया दिएका छन् । नेपाल यस विषयलाई लिएर गम्भीर हुनुपर्छ । किनभने आज नेपालले गर्ने डिल भनेको १९५० मा भारत र चीनसँग डिल गरेजस्तो होइन । विश्वको पहिलो अर्थतन्त्र हुँदै गरेको, नेपालको साँधसीमा जोडिएको मुलुकको यदि त्यो हदसम्मको संवेदनशीलता हो भने हामीले एमसिसीमाथि पुनर्विचार गर्नुपर्छ । छिमेकी मुलुकको चासोलाई बेवास्ता गरेर सात समुद्रपारिको देशको प्रस्तावलाई आँखा चिम्लिने छुट हामीलाई छैन । चीनले यस विषयमा नेपालका सम्बन्धित तहमा जाहेर गरेको हुन सक्छ । होइन भने चिनियाँहरू अरूले जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिँदैनन् ।

चीनले प्रतिक्रिया जनाएपछि दलहरूलाई अगाडि बढ्न कुनै समस्या हुन्छ कि हुन्न ?
नेपालको निर्णय लिने प्रक्रिया नै गलत छ । पहिलो त एमसिसीको प्रस्ताव आउनेबित्तिकै त्यसका प्रभावबारे विस्तृत छलफल गरिनुपथ्र्यो । तर, पहिले नै सम्झौता गरिसकेपछि बल्ल अहिले छलफल गर्दै छौँ । नेपालले यस्ता विषयमा हात हाल्दा दुईवटा पक्षमा ध्यान दिनुपर्छ । पहिलो, नेपालको स्वार्थलाई त्यसले सहयोग गर्छ कि गर्दैन । दोस्रो, कतै त्यस्ता प्रोजेक्टले हाम्रा दुई छिमेकी भारत र चीनका संवेदनशीलतालाई असर गर्छ कि गर्दैन भनेर हेर्नुपथ्र्यो । दुईवटै मापदण्डमा एमसिसी गलत छनोट थियो भन्ने आजको घटनाक्रमले पुष्टि गर्छ ।

यसले उत्पन्न गर्न सक्ने संकटको समाधान के हुन सक्छ ?
हिजो १९५० मा चीन कमजोर थियो, त्यति धेरै प्रभाव पनि राख्दैन थिए । त्यतिखेर बलमिच्याइँ गर्दा पनि हुन्थ्यो । तर, आज त्यस्तो होइन । परराष्ट्र नीति लागू गर्दा हाम्रो मूल प्राथमिकतामा हाम्रा छिमकी नै हुन् । यसको अर्थ यो होइन कि, युरोप, अमेरिका वा अरू मुलुकसँगको सम्बन्धलाई नजरअन्दाज गरिनुपर्छ । हामी अहिले जुन भूराजनीतिक परिवेशमा छौँ त्यसअनुसार सबभन्दा पहिला हामीले हाम्रो राष्ट्रको स्वार्थ हेर्नुपर्छ । त्यसपछि, छिमेकीका चासोप्रति संवेदनशील हुनुपर्छ । अर्को, यदि कुनै विषयलाई लिएर तलदेखि माथिसम्म मुलुक विभाजित बन्ने स्थिति छ भने त्यस्ता प्रोजेक्टलाई हामीले ‘ड्रप’ गर्नुपर्छ । हामीसँग त्यसलाई ह्यान्डल गर्ने क्षमता छैन ।

जटिलता बढेको देखिन्छ, समाधान कसरी गर्ने ?
अमेरिकालाई यो हाम्रो मामिला हो, हाम्रो भू–राजनीतिक जटिलताका कारण अघि बढाउन सकेनौँ भनेर जवाफ दिन सक्नुपर्छ । सारा निर्णय गर्ने मै हुँ भन्दा किन नगरेको भनेर भन्नु स्वाभाविक हुन्छ । त्यस्तो अवस्थामा यो नेतृत्वविशेषको नभएर राष्ट्रको कुरा हो, सकिएन भनेर स्पष्ट भन्नुपर्छ । तर, हाम्रा नेताहरूमा आफ्नो पद जान्छ कि भनेर जे पनि भन्दिने चलन छ, त्यो राम्रो होइन । आज जसरी आज होइन भोलि भनिँदै छ, त्यो पनि अर्को कमजोरी हुनेछ । किनभने आज राष्ट्रघाती हुने विषय भोलि राष्ट्रहितमा हुँदैन ।
 

सुझावित समाचार