पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोटडाँडासम्म शुक्रबारदेखि ‘अन्नपूर्ण केबुलकार सञ्चालनमा आएको छ। फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्नका लागि अन्नपूर्ण केबुलकार प्रालिले केबुलकार निर्माण गरेको हो ।
केबुलकार पोखरा महानगरपालिका– १८ को सेतीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो रहेको छ । १३ वर्षअगाडि अध्ययन भएर २ अर्बभन्दा बढी लगानीमा निर्माण गरेर शुक्रबारदेखि व्यावसायिक सेवा सुरुवात गरिएको अन्नपूर्ण केबुलकार प्रालिका निर्देशक तीर्थ त्रिपाठीले बताए । केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छेहरू ओहोरदोहोर गराउन सक्ने रहेको बताए । त्रिपाठीले अहिले सञ्चालनमा आएको आधा क्षमताको मात्रै भएकाले जानकारी दिए ।
त्यस्तै, अन्नपूर्ण केबुकार प्रालिका प्रबन्ध निर्देशक दिनेश पौडेलले केबुलकार पोखराको गहना भएको बताए ।उनले फेवातालबाट साङकोटसम्म केबुलकारबाट ९ मिनेटमा पुग्न सकिने बताए । केबुलकारले आगामी नयाँ वर्षमा ‘ग्रान्ड लन्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लन्चिज्ङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक सञ्चालन गर्ने तयारी गरेको छ। स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्रान्ड’ थपिएको हो । अंग्रेजी नयाँ वर्षका दिनदेखि व्यावसायिक सञ्चालनको योजना रहे पनि प्राविधिक समस्याका कारण ढिलाइ भएको हो । केबुलकारको तल्लो स्टेसन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेसन एक हजार ४६५ मिटर रहेको छ। प्राकृतिक सुन्दरताले भरिएको पोखरामा केबुलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ बन्नेछ।