नेपाली कांग्रेसका नेता डा. शशांक काेइरालाले एमसिसी नेपालले पारित गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसिसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र प्रधानमन्त्रीले आफ्नो निर्णयहरू बारम्बार भनिरहेको पनि बताए। कोइरालाले एमसिसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुईमत नरहेको दाबी गरे।
‘एमसिसी नेपालका लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छे उभिइरहेका छन्। हाम्रो अस्तित्व नै डामाडोल हुन्छ, अमेरिकी सेना यहाँ आउँछन् भन्ने हल्ला भएका छन्। नाैवटा मुलुकमा एमसिसी चलिरहेको छ त्यसमा त कोही सेनाहरू परिचालन भएको छैनन्। त्यसलाई पनि आधार मानेर मलाई के लाग्छ भने एमसिसी हामीले पारित गर्नुपर्छ,’ उनले भने, ‘शेरबहादुरजीको अघि दुई उपाय छन्– एउटा एमसिसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो। यो अप्सन उहाँले नै रोज्नुपर्ने हो। उहाँले कुन रोज्नुहुन्छ। एमसिसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु। गठबन्धनलाई राख्ने हो भने एमसिसी छोड्नुपर्छ। दुईमध्ये एउटा मात्रै हुन सक्छ भन्ने मलाई लागेको छ।’