खाली गराउन नसक्दा पुनर्निर्माण नै रोकियो
त्रिपुरेश्वरस्थित महादेव मन्दिर र आसपासको सत्तल पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । तर, मन्दिरपरिसरको उत्तरतर्फ रहेको एउटा सत्तल भने ढल्ने अवस्थामा छ । नेपाली लोकबाजा संग्रहालय रहेको सत्तल खाली नहुँदा ऐतिहासिक सम्पदा पुनर्निर्माण नै अवरुद्ध हुन पुगेको छ । गुठी संस्थानले सो सत्तल खाली गराउन पटकपटक पहल गर्दा पनि सफल हुन सकेको छैन ।
०६८ देखि सो सत्तलमा रामप्रसाद कँडेलले निजी संग्रहालय चलाउँदै आएका छन् । पाँच वर्षदेखि गुठीले सत्तल खाली गराउने प्रयास गरे पनि उनले नमान्दा जीर्णाेद्वार हुन नसकेको हो ।०७२ को भूकम्पमा मन्दिरसँगै सत्तल पनि भत्किएको थियो । सो सत्तललाई अहिले पनि टेको लगाएर राखिएको छ । स्थानीयलाई समेत जोखिमपूर्ण बनेको सत्तल संग्रहालयले खाली नगर्दा पुनर्निर्माण हुन सकेको छैन । राष्ट्रिय पुननिर्माण प्राधिकरण तथा पुरातत्व विभागले काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरी मन्दिर र सत्तलको पुनर्निर्माण गरिरहेको छ । ५ कात्तिक ०७३ मा गुठीले सत्तल खाली गर्न संग्रहालयलाई पत्राचार गरेको थियो । तर, अनेक बहाना गरी सत्तल खाली नगरेपछि समस्यामा परेको गुठी संस्थानका इन्जिनियर शालिकराम सुवेदीले बताए ।
पटक–पटकको प्रयास असफल भएपछि संस्थाले गृह मन्त्रालयमार्फत सत्तल खाली गराउन पर्यटन र भूमि व्यवस्था मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ,‘..सोही सत्तलको उत्तरतर्फ संस्थानसँग सम्झौता गरी बहालमा बसी आएको नेपाली लोकबजा संग्रहालयले बहाल अवधि समाप्त भएपछि पनि अनेक बहाना गरी सम्मानित अदालतमा मुद्दा राखी विगत वर्षहरूदेखि नै सत्तल खाली नगरिदिएका कारण निर्माण कार्यमा प्रत्यक्ष प्रभाव परी ढिला हुन गएको अवस्था एकातर्फ छ भने अर्काेतर्फ टेका दिएर राखिएको क्षतिग्रस्त सत्तल कुनै पनि समयमा भत्कन गई मानवीय क्षति हुन सक्ने खतरासमेत रहेको छ ।’
सुरुमा निःशुल्क रूपमा संग्रहालयले सत्तल प्रयोग गर्दै आएकोमा १५ वैशाख २०७१ देखि मासिक ६ हजार पाँच सय भाडा तिर्दै आएको थियो । त्यतिवेलाको सम्झौतामा पुनर्निर्माणलगायत अन्य कुनै उद्देश्यका लागि ६० दिनको सूचना दिएर खाली गराउन सक्ने उल्लेख छ । तर, गुठीले पाँच वर्षसम्म पनि खाली गराउन सकेको छैन । सत्तलको छानामा रहेको झिंगटी खसेका कारण २८ ठाउँमा पानी चुहिने गरको छ भने उत्तरतर्फको गारोसमेत चर्किएको छ ।
अब पनि खाली नगरे प्रहरी लगाउँछौँ : इन्जिनियर सुवेदी
संग्रहालयका सञ्चालक कँडेलले भने राज्यले संरक्षण गर्नुपर्ने बाजाहरू आफूले संरक्षण गरिरहेको भन्दै सत्तल खाली गराउन मानेका छैनन् । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा भएको छलफलमा लोकबाजा सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गर्ने र सरकारले नै सो संग्रहालय सञ्चालन गर्ने निर्णय भएको थियो । त्यसका लागि उनले प्रतिवर्ष १० करोडका दरले एक अर्ब रुपैयाँ माग गरेपछि निर्णय कार्यान्वायन हुन नसकेको हो । अब अन्तिमपटक खाली गर्नका लागि आग्रह गर्ने र उनले नमाने प्रहरीमार्फत खाली गराइने इन्जिनियर सुवेदी बताउँछन् ।