स्वदेशी तथा विदेशी फेसन ब्रान्डको अनलाइन सपिङ प्लेटफर्म ‘भेषभूषा डटकम’ सञ्चालनमा आएको छ । कलाकार राजेश हमाल र बैंकर रबिना देशराज श्रेष्ठले सोमबार एक कार्यक्रमबीच भर्चुअल ब्रान्ड हब भेषभूषाको संयुक्त रूपमा उद्घाटन गरे । विभिन्न क्षेत्रका आधा दर्जनभन्दा बढी युवाहरूले करिब पाँच करोड लगानी गरेर चर्चित ब्रान्डहरूको इ–कमर्स साइट सञ्चालनमा ल्याएका हुन् ।
सौन्दर्य, पहिरन र जीवनशैलीसँग सम्बन्धित विश्वस्तरीय ब्रान्डहरूलाई अनलाइन प्लेटफर्ममार्फत उपभोक्ताको घरदैलोसम्म पुर्याउने उद्देश्य राखेको कम्पनीका अध्यक्ष दीपक पाण्डेले बताए । ‘हामीले स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरीय सामान मात्र बिक्री गर्दैनौँ, उपभोक्तालाई अनुभव पनि बिक्री गर्न चाहन्छौंँ,’ उनले भने, ‘ग्राहकको सोच, आवश्यकता र चाहनाअनुरूप खरिद–बिक्री र परामर्शको एकीकृत सञ्जालमार्फत विश्वस्तरीय सेवा प्रणाली स्थापना गरी उपभोक्तासँग जोडिन चाहन्छौँ ।’
भेषभूषामा अहिले स्वदेशी तथा विदेशी गरी ३४ ब्रान्ड जोडिएका छन्, जसमध्ये १८ वटा विदेशी ब्रान्ड र १६ वटा स्वदेशी ब्रान्ड रहेका छन् । निकट भविष्यमै २५ वटा ब्रान्ड जोडिने कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) तृष्णा आचार्यले बताइन् । विदेशी ब्रान्डमा एर्क, पिक, सिरोना, डट एन्ड की, एडिडास, अन्डर आर्मर, लुरेला, लिभाइज, रिबकलगायत र स्वदेशी ब्रान्डमा अवानी, गोल्डस्टार, हुलास वेलनेस, राइनो लेदर, केटिएम क्विन्सलगायत ब्रान्डहरू उपलब्ध रहेको बताइएको छ । ‘स्वदेशी तथा विदेशी प्रख्यात ब्रान्डहरू बिक्री गर्ने देशकै पहिलो डिजिटल प्लेटफर्म हो, जसले ग्राहकलाई स्तरीय सेवा र गुणस्तरीय सामान उपलब्ध गराउन समर्पित छ,’ उनले भनिन्, ‘हामी ब्युटी, फेसन र लाइफस्टाइलमा आधारित रहेर उपभोक्तासँग जोडिन चाहन्छौँ ।’
यसलाई उत्पादन, बिक्री र ज्ञान बाँड्ने साझा कन्भरजेन्स प्लेटफर्म बनाउने लक्ष्य राखिएको छ । यसले स्वदेशी ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन पनि भूमिका खेल्ने भएको छ । ‘हाम्रो आफ्नै ब्रान्ड बनाएर उत्पादनमा पनि जाने लक्ष्य छ, नेपाली भेषभूषालाई कसरी अन्तर्राष्ट्रिय बजारमा लैजाने भनेर रणनीति बनाई काम गर्नेछौँ,’ सिइओ आचार्यले भनिन्, ‘हामी लोकल ब्रान्डलाई प्राथमिकता दिएर प्रवद्र्धन गर्नेछौँ ।’ नेपाली सीमान्तकृत समुदायले उत्पादन गरेको सामानलाई बजारीकरण गरिदिने सोच पनि रहेको उनको भनाइ छ । सुरुमा भेषभूषाको बिक्री तथा डेलिभरी सुविधा काठमाडौं उपत्यकामा मात्र केन्द्रित छ । निकट भविष्यमै देशैभरि आफ्नो सेवा विस्तार गर्दै लैजाने कम्पनीका प्रबन्ध निर्देशक अनिल बञ्जराले बताए ।