सर्लाहीको बरहथवाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ। शुक्रबार दिउँसो बरहथवा नगरपालिका– १७ श्रीपुर कटानीबाट सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीले ४० प्याकेट (१२ हजार पिस) नाइट्राभेट बरामद गरेको जनाएको हो।
बोरामा प्याक गरेर मोटरसाइकलको पछाडि राखेर तस्करी गर्दै गरेको अवस्थामा सो लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जनकारी दिए। गस्ती टोलीले तस्करीमा प्रयोग भएको ना ५५ प ९२८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।
तस्कर भने गस्ती टोलीलाई देख्नेबित्तिकै फरार भएको गणका एसपी खनियाँले बताए। बरामद भएको लागुऔषध र मोटरसाइकल आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।