संखुवासभाको चैनपुर नगरपालिकामा करोडौँ रुपैयाँ अनियमितता भएको भन्दै स्थानीय र राजनीतिकर्मीहरूले विरोध जनाएका छन्। महालेखपरीक्षक (मलेप)को प्रतिवेदनअनुसार नगरपालिकामा कराेडौँ रुपैया बेरुजु देखिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
नगरपालिकाका मेयर भरतकुमार खत्रीसहितका व्यक्तिहरूको मिलेमतोमा अनियमितता भएको भन्दै तत्काल फर्स्याेट गर्न माग गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका स्थानीय नेतृत्वले विरोध जनाएका हुन्। उनीहरूले मेयर खत्रीको नाममा मात्रै चार वर्षदेखि आएको बेरुजु अझै नतिरेको भन्दै तत्काल सोबराबरको रकम फर्स्याेट गरिनुपर्ने बताएका छन्।
.jpg'_'.2022-02-11.jpg)
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सचिव कुमारबाबु अधिकारीले जनताले जिताएको गुन भुलेर मेयर आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा लागेको आरोप लगाए। माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राईले यथाशीघ्र बेरुजु रकम फिर्ता गर्दै कानुनी कारबाही गर्नुपर्ने बताए। उनले स्थानीय तहमा जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएपछि नै मेयर खत्री मनोमानी ढंगले अघि बढेको बाहिर सुनेपछि सच्चिन पटकपटक आग्रह गरिएको स्मरण गरे।
यसैगरी, चैनपुर नगरपालिकामा मेयर भरतकुमार खत्रीका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शंकरमान कँडेलले नगरवासीले गलत व्यक्तिलाई भोट दिएर जिताएकाले नै मनोमानी बढेको जिकिर गरे। ‘मलेपको प्रतिवेदनमा मात्रै तीन करोड ३१ लाख ६२ हजार रुपैयाँ रकम विभिन्न शीर्षकमा बेरुजु रहेको पाइएकाले तत्कालै राज्यकोषमा फिर्ता गर्नुपर्छ। योबाहेक स्रेस्ता मिलाएर लाखौँ रुपैयाँ भष्टचार गरेका छन्। एक ठाउँको योजना सम्पन्न गर्न अर्को ठाउँका आफ्नो मान्छेलाई समिति बनाएर योजना सञ्चालन गरेका छन् । यस्ता अनगिन्ती काम गरेको पाइएको छ,’ कँडेलले भने।
अनियमितता गरेको आरोप लागेका मेयर खत्रीले तत्काल यस विषयमा जवाफ दिन नसक्ने बताए। उनले प्रतिवेदन अध्ययन गरेर मात्रै आवश्यकताअनुसार पत्रकार सम्मेलन गरी आफनो धारणा सार्वजनिक गर्ने बताएका छन्।