मोरङको सुनवर्षी नगरपालिकामा विद्यालयले खुला छाडेको शौचालयको सेप्टी ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ। सुनवर्षी– ९ भेडुवाथानमा रहेको बिपी आधारभूत विद्यालय परिसरमा रहेको शौचालयको खुला सेप्टी ट्यांकी (हज)मा डुबेर सोही ठाउँका सन्तोष दासका तीन वर्षीय छोरा खेम दासको बिहीबार साँझ मृत्यु भएको हो।
विद्यालयअगाडि सन्तोषको परिवार चियानास्ता पसल गरेर बस्दै आएको थियो। उनीहरूले दिसापिसाब गर्न विद्यालय परिसरमा रहेको शौचालय नै प्रयोग गर्दै आएका थिए। बिहीबार साँझ ५ बजेतिर आमा जमुनादेवी शौच गर्न विद्यालयको शौचालय गएकी थिइन्। आमालाई पछ्याउँदै जाँदा बालक ढक्कन नभएको शौचालयको सेप्टी ट्यांकीमा डुबेका थिए। सेप्टी ट्यांकीमा डुबेर गम्भीर घाइते भएको अवस्थामा फेला परी बालकलाई उपचारका लागि तुरुन्तै जिल्ला अस्पताल रंगेली ल्याए पनि उपचारकै क्रममा उनको साँझ सात बजे मृत्यु भएको हो।
विद्यालयका अनुसार विद्यालयले आफ्नो परिसरमा तारजाली लगाए पनि बाहिर पसल गर्नेहरूले तारजाली काटेर चोर बाटो बनाएर शौचालय प्रयोग गर्ने गरेका थिए। प्रधानाध्यापक सञ्जीव राजवंशीका अनुसार शौचालयको हजमा लगाएको ढक्कन स्थानीय युवाहरूले ६ महिनाअघि फुटाइदिँदा सेप्टी ट्यांकी खुला हुन पुगेको थियो। वडाध्यक्ष कमलकिशोर गनगाईंले शौचालयको रिङ लगाएको गहिरो सेप्टी ट्यांकी महिनौँसम्म ढक्कन नलगाई खुला छाड्नु विद्यालयको गम्भीर गल्ती भएको बताएका छन्।