‘न बिर्सेँ तिमीलाई न पाए तिमीलाई’ गीत पुनः रेकर्ड भएकोप्रति गायिका अञ्जु पन्तले आफ्नो भनाइ व्यक्त गरेकी छिन्। हाल विदेशमा रहेकी गायिका पन्तले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेकी हुन्।
गायिका पन्तको स्वर र महेश खड्काको संगीत रहेको उक्त गजलगीत निकै नै चर्चित गीत हो। तर, सोही गीतको ‘रि–रेकर्ड’ भएपछि अञ्जु पन्तले आफूलाई दुःख लागेको बताएकी छिन्। उनले गाएको न बिर्सेँ तिमीलाई गीतमा केही दिनअघि रचना रिमालले स्वर दिएकी थिइन्। उक्त गीत युट्युबमा सार्वजनिक गरिएको छ। आफूले गाएको निकै चर्चित गजलगीत पुनः गाएर युट्युबमा राख्दा गायक–गायिकाको नामसमेत उल्लेख नगरेकोप्रति गायिका पन्तले असन्तुष्टि पोखेकी हुन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै गायिका पन्तले उक्त गीतको नयाँ भर्सन रेकर्ड गरेर युट्युबमा राख्दासमेत आधिकारिक भनेर राख्नु न्यायोचित नभएको धारणा राखेकी छिन्। ‘उही संगीत उही एरेन्जमेन्टसहित नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नाम उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनुचाहिँ दुःखद र अन्यायपूर्ण कुरा हो,’ उनले लेखेकी छन्, ‘के उद्देश्यका लागि यस्तो भयो मलाई थाहा भएन ।’
उनले नेपाली गीत संगीतमा पुराना र सिनियर कलाकारको सम्मान र आदर घट्दै गइरहेको पनि बताएकी छिन् । साथै आफूले गाएको गीतको रि–रेकर्ड गर्नेहरूले स्रोताको मागअनुसारको समाधानको उपाय निकाल्नुपर्ने गायिका पन्तको धारणा छ ।