थापागाउँस्थित कुञ्ज नाटकघरमा २८ माघदेखि ‘पुतलीको घर’ नाटक नियमित रूपमा मञ्चन हुने भएको छ । गुरुकुलका संस्थापक सुनील पोखरेलका अनुसार कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि ७ माघमा स्थगित भएको नाटक गुरुकुलले पुनः नियमित गरेको हो ।
‘कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि हामीलाई पनि सामाजिक उत्तरदायित्व महसुस भएर नाटक मञ्चन स्थगित गरेका थियौँ,’ पोखरेलले भने, ‘अब कोरोना संक्रमण कम हुँदै गएकाले नाटक मञ्चन फेरि सुरु गर्न लागेका हौँ ।’ नाटकबाहेक आर्ट पेन्टिङ, कविता वाचन, लाइभ म्युजिकलाई पनि नियमित गर्ने उनले बताए ।
हेनरिक इब्सनको नाटक ‘अ डल्स हाउस’को नेपाली रूपान्तरण तथा निर्देशन सुनील पोखरेल आफैँले गरेका हुन् । नाटकमा निशा शर्मा, शेखर चापागाईं, अन्जु देउजा, सुनील पोखरेल र राजकुमार पुडासैनीको अभिनय छ । काठमाडौं महानगरपालिकाले एक वर्षको भाडा बेहोर्ने भएपछि करिब एक दशकदेखि रोकिएको गुरुकुल ३० पुसमा कुञ्ज नाटकघरमा ‘पुतलीको घर’ मञ्चनसँगै सञ्चालनमा आएको हो ।