पदम रोकायाको राजनीतिक यात्रा : पञ्चायतको उपप्रधानदेखि गणतन्त्रको मन्त्रीसम्म

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

जुम्लाको सिँजा भेगमा पर्ने कनकासुन्दरी गाउँपालिका– ७, रोकायाबाडामा २०१० मा जन्मेका पदमबहादुर रोकाया एक सक्रिय राजनीतिकर्मी हुन् । उनै रोकाया आइतबार कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त भएका छन् । उनी नेकपा एकीकृत समाजवादीबाट मन्त्रीमा नियुक्त भएका हुन् । ०३६ सालमा रोकायाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

०३८ सालमा गाउँ पञ्चायतमा युवा संगठनको सभापति बनेका रोकाया ०४४ को पञ्चायत चुनावमा पञ्चायतको विरुद्धमा उम्मेदवार भई उपप्रधानमा निर्वाचित भए । ०४७ मा नेकपा मालेको सदस्य बनेका रोकाया ०४७ मै नेकपा एमाले जिल्ला कमिटी सदस्य बने । एमाले जिल्ला कमिटीमा लगातार सचिवालय सदस्य हुँदै ०६५ मा पार्टी जिल्ला उपाध्यक्ष बने । 

रोकाया ०६४ मा एमालेको तर्फबाट तत्कालीन जिविस बोर्ड सदस्यसमेत बनेका थिए । ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी समानुपातिक उम्मेदवारको बन्द सूचीमा अटाएका थिए । रोकाया दोस्रो संविधानसभा निर्वाचन ०७० मा पनि उम्मेदवार बनेका थिए । त्यसवेला उनी कांग्रेसका ललितजंग शाहीसँग पराजित भएका थिए ।

०७४ सालको जुम्ला जिल्ला क्षेत्र नं. ख बाट प्रत्यक्ष उम्मेदवार भई नेपाली कांग्रेसका भीमनिधि हमाललाई दोब्बर मतले हराउँदै रोकाया विजयी भएका थिए । हाल कर्णाली प्रदेश सभा सदस्यसमेत रहेका रोकाया नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।

मन्त्री बनेसँगै रोकायाले जुम्ला जिल्ला र कर्णाली प्रदेशको विकासमा आफू पछि नहट्ने प्रतिबद्धता जनाएका छन् । स्रोतसाधनले भ्याएसम्म कर्णालीको विकासमा लागिपर्ने उनको भनाइ छ । 
 

सुझावित समाचार