एनआइसी एसियाले बचत खातामा थप सुविधा दिने

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’मा बिमा अवधि तथा अन्य सुविधा थप गरेको छ । बैंकले ०७८ कात्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बिमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरू थप वृद्धि गर्दै एक वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बिमा सुविधालाई पाँच वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बिमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको हो । 

सबै ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रूपको अध्ययन तथा विश्लेषण गरी सुविधा थप गरिएको बैंकले जनाएको छ । बैंकको निक्षेप योजनाहरूलाई सोहीअनुरूप निरन्तर रूपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने गरी योजना बनाउँदै गएको बैंकको दाबी छ । साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्ने जनाइएको छ । 

बैंकले डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वार्षिक क्रेडिट कार्ड शुल्क पाँच वर्षका लागि निःशुल्क गरेको जनाएको छ । त्यस्तै, क्रेडिट कार्ड जारी शुल्क तथा वार्षिक शुल्क निःशुल्क गर्दै सीमा अधिकतम पाँच लाख रुपैयाँसम्म पुर्याएको जनाइएको छ । बैंकले प्रिपेड डलर कार्ड, डिम्याट खाता एवं मेरो सेयर शुल्क, चेक क्लियरिङ, अरटिजिएस, आइएस/सिपिएस/फन्ड ट्रान्सफर पनि निःशुल्क गरेको जनाएको छ ।

बैंकले लकर दस्तुर पाँच वर्षका लागि निःशुल्क तथा लकर मार्जिन पूरै मिनाहा गरेको तथा पोर्टफोलियो म्यानेजमेन्ट सेवाशुल्क पाँच वर्षका लागि ५० प्रतिशत छुट गरेको उल्लेख गरेको छ । इ–कमर्स निःशुल्क सुचारु एवं पाँच वर्षका लागि निःशुल्क गरेको छ । स्विप इन स्विप आउट सुविधाअन्तर्गत खातामा दुई लाख रुपैयाँभन्दा बढी भएमा बढी रकमलाई १० हजार रुपैयाँले भाग जाने रकम तीन महिनाको मुद्दती निक्षेपमा स्वतः राखिदिने र यसमा मुद्दती निक्षेपअनुसारकै ब्याज दिने व्यवस्था गरेको छ । एटिएम कार्ड देशभरका कुनै पनि बैंकका एटिएमबाट झिक्न र मौज्दात जाँच्न पाँच वर्षका लागि निःशुल्क गरेको बैंकले जनाएको छ । त्यस्तै, विदेशी मुद्रा सटहीमा २५ पैसा प्रिमियम वा रिवेट दिने व्यवस्था गरेको जनाइएको छ । 

सुझावित समाचार