कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको आवश्यकता आगामी निर्वाचन र त्यसपछि पनि रहेको बताएका छन् । देशको संविधान र संसदीय अभ्यासको आवश्यकताको रूपमा गठबन्धन रहेको उनको टिप्पणी छ । पोखरामा आइतबार कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा पौडेलले गठबन्धन आवश्यक छैन भन्नेहरूले संविधान पढ्न र संसद्मा प्राप्त हुने परिणामको आकलन गर्नसमेत आग्रह गरे ।
पाँचदलीय गठबन्धन बनाएकै कारण कांग्रेसले केन्द्रीय सरकारको नेतृत्व गर्न पाएको र प्रदेशहरूमा समेत नेतृत्व गर्न पाएको तथ्य नबिर्सन उनले आग्रह गरे । राष्ट्रिय सभा निर्वाचनमा समेत आफ्नो पार्टीका तीन सिट खाली भएकामा ६ सिट जित्न गठबन्धनकै कारण सफल भएको उनको भनाइ थियो ।
‘हाम्रा साथीहरू गठबन्धन गर्न हुन्न भन्छन् । म सोध्न चाहन्छु, गठबन्धन नभएको भए के केन्द्रमा हाम्रो नेतृत्वमा सरकार बन्थ्यो ? प्रदेशहरूमा बन्थे ? राष्ट्रिय सभामा हाम्रो तीन सिट खाली भएको थियो, के गठबन्धन नभएको भए त्यसको रक्षा गर्न र अझ तीन सिट थपेर ६ सिट बनाउन सक्थ्यौँ ?’ उनले प्रश्न गरे ।
पौडेलले कांग्रेससँग जम्माजम्मी ३० प्रतिशत जनमत रहेको तथ्यलाई नभुल्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले प्रश्न गरे, ‘कांग्रेसले गठबन्धन गर्र्र्दैनौँ, सहकार्य गर्दैनौँ भन्दा बाँकी ७० प्रतिशत मिले भने के हुन्छ ?’ आफू अहिले जवाफ दिने ठाउँमा नभई कांग्रेसमा प्रश्न सोध्ने स्थानमा रहेको बताएका उनले यसको जवाफ कांग्रेस सभापति र निर्वाचित नेताहरूले दिनुपर्ने बताए । ‘मैले सुनिरहेको छु, केही साथीहरू गठबन्धन गर्न हुन्न भनिरहेका छन्, एक्लै हिँड्नुपर्छ भनिरहेका छन् ।
भोलि उनीहरू सबै मिले भने कांग्रेसको अवस्था के हुन्छ ?’ पौडेलले भने । ‘माधव र प्रचण्डले सम्झाएपछि संयन्त्रको नेतृत्व गरेको हुँ’
पौडेलले सुरुमा आफूले संविधानले नचिन्ने राजनीतिक संयन्त्रको नेतृत्व गर्न नमानेको, तर माधव नेपाल र प्रचण्डले सम्झाएपछि स्वीकार गरेको बताए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका वेला संसद् भंग गराएको र त्यो वेला पार्टी सभापतिले खुट्टा नटेकेको वेला आफूले अडान लिएको कुरा माधव र प्रचण्डले स्मरण गराएको उनको भनाइ थियो । ‘मैले संयन्त्रको नेतृत्व गर्दिनँ भनेको थिएँ । माधव र प्रचण्डले तपाईंको पार्टी सभापतिले केपी ओलीले संसद् विघटन गरेको वेला तपाईंले अडान लिँदा संसद् र संविधान जोगाउन सफल भएको होइन भन्नुभयो । यसलाई जोगाउन र सम्भावित खतरालाई टार्न संयन्त्रको नेतृत्व गर्नुपर्छ भन्नुभयो । अनि म संयन्त्रको संयोजक बस्न तयार भएको हुँ,’ उनले भने ।
नेता पौडेलले आफूले माधव नेपाल र प्रचण्ड असुरक्षित रहेको पाएको समेत बताए । ‘माधव नेपाल र प्रचण्डले आफूलाई असुरक्षित रहेको महसुस गरेको पाएँ । आफूलाई असुरक्षित महसुस गर्नेलाई साथ दिइएन भने के हुन्छ ? उहाँहरू उतै मिल्न जानुभयो भने के हुन्छ । त्यही भएर मैले उहाँहरूलाई पनि साथमा लिएर जानुपर्छ भनेको हुँ । हामीले कन्फर्म जित्ने ठाउँमा गठबन्धन गरौँ भनेको होइन । उहाँहरूले पनि नजित्ने हामीले पनि नजित्ने, तर दुवै मिल्दा जित्ने ठाउँमा किन गठबन्धन गरेर नजाने भनेको हो,’ उनले भने ।
सहिदको बलिदानलाई भ्रष्टाचारको पछ्यौरीले छोप्न हुन्न : उपसभापति गुरुङ
कांग्रेस उपसभापति धनराज गुरुङले वर्तमान सरकारले विगतमा भएका ठुल्ठूला भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताए । व्यवस्था परिवर्तनका लागि ज्यान उत्सर्जन गर्ने सहिदको बलिदानलाई लोकतन्त्रमा भ्रष्टाचारको पछ्यौरीले छोप्ने कार्य नसुहाउने भन्दै उनले भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिए । ‘सहिदको सपनालाई भ्रष्टाचारको पछ्यौरीले छोप्नुहुँदैन । ठुल्ठूला भ्रष्टाचारका फाइल अख्तियारको दराजमा थन्क्याएर लोकतन्त्र बलियो हुन सक्दैन,’ उनले भने, ‘हिजो अनुन्धान नभएर के भयो ? आज कांग्रेसले यसको अनुन्धान अगाडि बढाउनुपर्छ । तब मात्र कांग्रेस लोकतान्त्रिक भएको ठहर्छ । लोकतन्त्र बलियो हुन्छ ।’
उपसाभापति गुरुङले महाधिवेशनमा बनेका प्यानल अब भत्किएको भन्दै सभापति र निर्वाचित सबैको अब कुनै प्यानल नरहेको र सबै पार्टीको भएको धारणा राखे । कांग्रेसमा अब घात–प्रतिघात नचल्ने भन्दै यस्तो गर्नेलाई ठाउँको ठाउँ कारबाही हुने उनले चेतावनी दिए । वर्तमान सरकारलाई एमालेले परमादेशबाट बनेको सरकार भन्ने गरेको भन्दै आक्रोश पोखेका उनले बहुमत सांसदले हस्ताक्षर गरेर अदालतलाई आदेश दिन बाध्य पारेको नबिर्सन आग्रह गरे ।