प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन्। पोखरेलले संविधान र कानुनी व्यवस्थाअनुसार सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरूले सरकारविरुद्ध आन्दोलन गर्ने बताए।
पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको २४औँ स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। वर्तमान सरकारलाई 'श्रीमानहरू'ले बनाएको भन्दै उनले सरकारले संविधान र कानुन उल्लंघन गर्ने धृष्टता गरिरहेको आरोप लगाए।
‘गठबन्धनकारी सरकार छ। यस्तो सरकार, जुन सरकार गठन गर्न पार्लियामेन्टले चिनेन, देखेन, थाहा पाएन, श्रीमानहरूले बनाए। श्रीमानहरूले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता गर्दै छ। कानुनलाई उल्लंघन गर्ने धृष्टता गर्दै छ, संविधानले किटानी गरेको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता गर्दै छ। यसको बारेमा बोल्नुपर्छ कि पर्दैन ? बोल्नुपर्छ। यदि यो स्थानीय तहको निर्वाचन कानुन र संविधानले तय गरेको समयमै हुँदैन भने त्यसको विरुद्धमा देशव्यापी रूपमा जनपरिचालन हुन्छ। मुलुकको संविधान र कानुनको रक्षाका लागि यो काम गर्नुपर्दछ,’ उनले भने।