खेलकुदसँग सम्बन्धित तीनवटा महत्वपूर्ण संघले बिहीबार राट्रिय खेलकुद परिषद् (राखेप)को ठप्प रहेको गतिविधि सुचारु गर्न र अनिर्णयको बन्दी बनाइराख्न नहुने जनाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राखेप कर्मचारी संघले संयुक्त रूपमा राखेप परिसरदेखि दशरथ रंगशालाको मूलढोकासम्म र्याली निकाली प्रदर्शन गरेका हुन् ।
शान्तिपूर्ण र्यालीमा तीन संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतको सहभागिता थियो । प्रदर्शनमा आएकाहरूले दुवै हातमा कालोपट्टी बाँधेर विरोध जनाएका थिए । डेढ महिनादेखि राखेप सदस्यसचिवविहीन छ । सदस्यसचिव नहुँदा राखेपको दैनिक कामदेखि खेलाडीको तयारीमा असर परेकाले वैकल्पिक व्यवस्था गर्नका लागि समेत तीन संघले माग राखेका छन् ।
खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राखेप नेतृत्वविहीन हुँदा खेलाडीको तयारीमा समेत असर परेको बताए । ‘अदालतबाट फैसला आउने र खेलकुद मन्त्रालयबाट केही ठोस निर्णय हुन सक्ने विश्वासका साथ बसेका थियौँ, तर दुवै पक्षबाट केही पनि निर्णय भएन, मन्त्रालय र अदालतबाट झुक्याउने काम भयो,’ खेलाडी संघका अध्यक्ष श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘डेढ महिना राखेप नेतत्वविहीन हुँदा यसको असर धेरै परेको छ ।’
आसन्न नवौँ राष्ट्रिय खेलकुद, १९औँ एसियन खेलकुद तथा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी निकै ढिला भइसकेको श्रेष्ठले बताए । ‘यी तीनवटै प्रतियोगिताको तयारी धेरै अगाडिदेखि हुनुपर्ने थियो, त्यतिकै हामी एसियाड र साग खेलको तयारीका लागि निकै पछाडि परेका छौँ,’ उनले भने, ‘एसियाड र सागको तयारी दुई वा तीन महिनाले पुग्दैन, राम्रो नतिजा निकाल्न यसको तयारी कम्तीमा चार वर्षअगाडिदेखि नै हुनुपर्ने थियो ।’ अबको आन्दोलनमा थप अन्य संघ तथा संस्थासमेत आउने उनको भनाइ छ । ‘हामीलाई विश्वास छ, आउँदा दिनमा हुने आन्दोलनमा राखेपमा रहेका दुई सयभन्दा बढी संघ पनि जोडिनेछन्,’ उनले भने, ‘तर, हाम्रो आन्दोलन शान्तिपूर्ण नै हुनेछ, यो आन्दोलन केवल सम्बन्धित निकायको ध्यानाकर्षण गराउन मात्र हो ।’
राखेपको बोर्ड बैठक बोलाउन माग
राखेपका बोर्ड सदस्यहरूले परिषद्को बोर्ड बैठक बोलाउन माग गरेका छन् । राखेपका १३ सदस्यले खेलकुदमन्त्री गहतराजलाई पत्र लेख्दै बोर्ड बैठक बोलाउन माग गरेका हुन् । राखेको अन्तिम बोर्ड बैठक गत २९ असारका लागि निर्धारण गरिएको थियो । तर, मन्त्रिपरिषद्मा फेरबदल भएपछि बोर्ड बैठक बस्न सकेको थिएन ।
‘सात महिना बितिसक्दा पनि परिषद्को बैठक बस्न नसकेकाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषद्को बैठक बोलाउन संयुक्त रूपमा अनुरोध गर्दछौँ,’ मन्त्री गहतराजलाई लेखेको पत्रमा भनिएको छ । राखेप सदस्यसचिवविहीन हुँदा यसको प्रत्यक्ष असर प्रशिक्षक, कर्मचारीको तलब, खेलाडीको भत्तामा परेको पत्रमा भनिएको छ ।
‘नवौँ राष्ट्रिय खेलकुद, एसियाली खेलकुदको तयारीका लागि आवश्यक कार्यमा अगाडि बढ्नुहोस्, अब खेलकुदमा राजनीति गर्न बन्द गर्नुहोस् र तत्काल बोर्ड बैठक बोलाई खेलकुद क्षेत्र चलायमान बनाउनुहोस्,’ पत्रमा उल्लेख छ ।