मार्सी धान, स्वादिलो स्याउ, जुम्लाको सिमीलगायतले जुम्लालाई देशभित्र फरक रूपमा प्रस्तुत गरिरहेको छ । यहीक्रममा पछिल्लो समय खेलकुद गतिविधिमा यहाँका खेलाडीको जबरजस्त उपस्थितिले जुम्लालाई विश्वस्तरमै परिचित गराउन थालेको छ ।
०६४ सालमा स्थापना भएको कर्णाली स्पोर्टस् क्लबले उत्पादन गरेका खेलाडीले जिल्ला, क्षेत्रीय, राष्ट्रिय स्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा समेत देशको नाम राखिरहेका छन् । हिमचितुवाका रूपमा परिचित कीर्तिमानी धावक हरिबहादुर रोकायाले स्थापनाकालदेखि नै क्लबमा आबद्ध खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । प्रशिक्षार्थीलाई बाह्रै महिना कहिले हिलोमा त कहिले उच्च हिमाल र हिउँमा दौडाइरहेका छन् । रोकाया एभरेस्ट म्याराथनका कीर्तिमानी खेलाडीसमेत हुन् । उनले गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका छन् । कर्णाली स्पोर्टस् क्लब, जुम्लाका अध्यक्ष सरोज शाही भन्छन्, ‘विभिन्न कठिनाइका बाबजुद खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँदै आएका छौँ ।’
देश–विदेशमा जागिरे
दुर्ग बुढा कर्णाली स्पोर्टस् क्लबले उत्पादन गरेका खेलाडी हुन् । उनी अहिले इन्डियन आर्मी क्लबमा आबद्ध छन् । अन्तर्राष्ट्रिय धाविका विश्वरूपा बुढा पनि क्लबकै उत्पादन हुन् । उनी त्रिभुवन आर्मी क्लबमा छिन् । रोजिना भण्डारी, पूर्णलक्ष्मी न्यौपाने, विष्णु बुढा, राजन रोकाया सबै कर्णाली स्पोर्टस् क्लबले नै उत्पादन गरेका खेलाडी हुन् । उनीहरू अहिले नेपाली सेनामा जागिर खाएर त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् । गोविन्द्रप्रसाद भण्डारी र लोकबहादुर भण्डारी पनि कर्णाली स्पोर्टस् क्लबले उत्पादन गरेका खेलाडी हुन् । उनीहरू गेम स्काउटमा आबद्ध छन् ।
खेलमैदान नहुँदा समस्या भएको गुनासो
खेलमैदान अभावमा भीरपाखामा अभ्यास गर्नुपर्दा अझै राम्रो गर्न नसकेको खेलाडीहरूको गुनासो छ । वर्षको एकपटक एन्फाले जुम्लामा फुटबल प्रतियोगिता गर्ने गरेको छ । यो प्रतियोगिता गर्नसमेत सदरमुकाम खलंगामा रहेको नेपाली सेनाले तालिम गर्ने टुँडिखेल प्रयोग हुने गरेको छ । सेनासँग समन्वय गरी प्रतियोगिता गर्ने गरेको एन्फाका अध्यक्ष भरत बुढ्थापा बताउँछन् । स्थानीय तहहरूले एक पालिका एक रंगशाला निर्माणको नीति लिए पनि रंगशाला बनाउनेतर्फ जनप्रतिनिधिले चासो दिएका छैनन् ।
कीर्तिमानी हरिबहादुर
हरिबहादुर रोकायाले पहिलोपटक सन् १९९३ मा सगरमाथाको आधार शिविर (५,१८४ मिटर उचाइ)बाट सुरु भई नाम्चे बजार (३,४४६ मिटर) सम्मको एभरेस्ट म्याराथनमा भाग लिए । त्यसमा उनी तेस्रो भएका थिए । सन् १९९७ मा भएको प्रतियोगितामा दोस्रो भए । सन् १९९९ उनी पहिलो भए । त्यतिमा मात्र हरिबहादुरले चित्त बुझाएनन् ।
संसारकै सबैभन्दा अग्लो ठाउँमा हुने विश्व प्रसिद्ध म्याराथन एभरेस्ट म्याराथनमा सन् २००० मा पहिलो भएर विश्व कीर्तिमान नै राखे । तीन घन्टा ५० मिनेट २३ सेकेन्डमा म्याराथन पूरा गरी गिनिज बुक अफ द वल्र्ड रेकर्डमा कीर्तिमानी धावकको रूपमा नाम लेखाए ।
उनी भन्छन्, ‘यहाँसम्म ल्याइपुर्याउन उत्प्रेरणा दिने धेरै छन् । उनीहरूकै प्रेरणाका कारण मैले तीनपटक उपाधि उचालेँ । अन्तिममा प्रवेश शुल्क तिर्न सकिनँ र खेलमा भाग लिन पाइनँ ।’ अहिले उनले उत्पादन गरेका खेलाडी कोही हङकङ, इटालीलगायतका देशमा प्रशिक्षण लिन र म्याराथनमा भाग लिन पुगेका छन् । केहीले त राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारसमेत जितेका छन् । उनी भन्छन्, ‘मेलै प्रशिक्षण दिएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्दा गर्व लाग्छ ।’
हरिबहादुर दौडिन थालेको २७ वर्षमा १३ राष्ट्रिय तथा ३१ वटा अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाइसकेका छन् । १३ राष्ट्रिय प्रतियोगितामध्ये नौवटामा रोकायाले उपाधि उचालेका छन् । सन् १९८५ मा इन्डोनेसियाको जकार्तामा एसियन ट्र्याक एन्ड फिल्डको पाँच किलोमिटर दौडमा सहभागिता जनाएर उपाधि उचाले ।
राष्ट्रिय स्तरका ११ प्रतियोगिता जित्न सफल सीता
एथ्लेटिक्सकी प्रतिभावान् धाविका विश्वरूपा बुढाले छैटौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् । जुम्लाकै धाविका सुनमाया बुढाले सन् २०१८ मा सोलुखुम्बुको कालापत्थरदेखि स्याङ्बोचे म्याराथनमा प्रथम, सन् २०१८ मा चाइना रेसमा प्रथम, सन् २०१६ मा ५० किलोमिटर रेसमा प्रथम, सन् २०१७ मा वल्र्ड च्याम्पियन्स, थाइल्यान्डमा सम्पन्न ११० किलोमिटर दूरीको दौडसमेत जितिन् ।
यस्तै, हङकङमा ५० किलोमिटर लामो ‘एमएसआइजी ट्रेल रनिङ प्रतियोगिता’मा पनि सुनमायाले पदक जितिन् । उनले १०–११ वटा प्रतियोगितामा कीर्तिमान कायम गरेकी छन् । यस्तै, धाविका पूर्णलक्ष्मी न्यौपानेले पनि धेरै प्रतियोगितामा उपाधि उचालिसकेकी छन् । जुम्लाकै सीता न्यौपानेले पनि जिल्ला, क्षेत्रीय र राष्ट्रिय स्तरका ११ वटा प्रतियोगिता जित्न सफल भइसकेकी छन् । राममाया बुढा, मञ्जु रावत, गोविन्दप्रसाद अधिकारी, प्रकाश कठायत, अमृता भण्डारीसहित उत्कृष्ट खेलाडीले दर्जनौँ प्रतियोगितामा कीर्तिमान कायम गरिसकेको प्रशिक्षक हरिबहादुर रोकायाले बताए ।
हरिबहादुर कर्णाली क्षेत्रको खेल क्षेत्रलाई बढावा दिन निरन्तर लागिरहेको बताउँछन् । उनकै प्रयत्नका कारण जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ गर्न आउने प्रशिक्षार्थी बढिरहेका छन् । हाई अल्टिच्युड ट्रेनिङ लिन भारत र नेपालका विभिन्न जिल्लाबाट जुम्ला आउने गरेको उनले बताए ।
खेलाडीको लजेस्टिकमा समस्या
आर्थिक अभावका कारण खेलाडीलाई डाइटिङ पुर्याउन निकै मुस्किल परेको कर्णाली स्पोर्टस् क्लब जुम्लाले जनाएको छ । ‘क्लबले अहिले कुटानीपिसानी मिल चलाएको छ,’ क्लबका अध्यक्ष शाही भन्छन् । मिलले सञ्चालन खर्च कटाएर मासिक ७–८ हजार बचाउने गरेको छ । त्यही रकमबाट खेलाडीलाई डाइटिङका लागि अन्डा र चनाको व्यवस्थापन गर्ने गरेको उनी बताउँछन् । जुम्लाका सबै स्थानीय तहका खेलाडी क्लबमा आबद्ध भएर अभ्यास गरिरहेका छन् । क्लबको नियमित आम्दानी नहुँदा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन समस्या हुने गरेको उनले भने ।