चुनाव हुने भएपछि सेयर बजारमा देखियो चमक

बुधबार, १९ माघ, २०७८
डिजिटल संस्करण

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचक सकारात्मक बनेको छ । कारोबार अवधिभर बजारमा आएको तीव्र उत्तारचढावका बीच अन्तिम समयमा नेप्से सूचक १९ दशमलव २९ अंकले बढेर दुई हजार आठ सय ९१ दशमलव ३३ बिन्दुमा पुगेको छ ।कारोबारको सुरुवातमा लगानीकर्ता ‘पर्ख र हेर’मा देखिएका थिए । प्रोफिट बुक गर्ने र बजार प्रवेश गर्ने लगानीकर्ताको चाप देखिँदा नेप्सेमा तीव्र उत्तारचढाव हुन पुुगेको हो । कारोबारको मध्यतिर आइपुुग्दा सरकारले चुनावको मिति जेठ ४ मा गर्नेे हल्ला चलेपछि बजार बढेर बन्द भएको हो ।

अघिल्लो दिन सोमबार नेप्से सूूचक दोहोरो अंकको करेक्सन आएको थियो । तर, चुनाव हुने मिति यकिन भएपछि बजार फर्किएको दाबी लगानीकर्ता ताराप्रसाद काफ्ले बताउँछन् । करेक्सन हुँदै गएको बजार बलियो हुँदै जान्छ, अहिले बजार बलियो भएर अघि बढ्न खोजेको र चुनाव हुने आधार तय हुँदा बजारमा उत्साह आएको उनको भनाइ छ ।

त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स करिब ४ प्रतिशतले बढेर पाँच सय ४२ दशमलव ९० बिन्दुुमा पुुगेको छ । कारोबारमा आएका १३ वटा समूूहका सूचकमध्ये नौ समूूहका सूचक बढेका छन् भने चारवटा समूहका सूचक घटेका छन् । बढेको नेप्सेमा जलविद्युत् समूह, फाइनान्स र विकास बैंक समूहका सूचकमा लगानीकर्ताले लगानी बढाएका छन् । होटेल तथा पर्यटन समूह, जीवन बिमा, उत्पादनगत समूूह, ट्रेडिङ समूहको सूचक भने सामान्य घटेको छ । कारोबारमा आएकामध्ये एक सय ४८ वटा स्क्रिप्टको सेयर मूल्य बढेको छ भने ३६ वटा स्क्रिप्टको सेयर मूल्य घटेको छ ।

जसमा विन लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । यी दुुई स्क्रिप्टको सेयर अघिल्लो हप्ताबाटै सर्किट मूल्यमा कारोबार हुँदै आएको छ । नेसनल हाइड्रोपावर कम्पनी, फर्वाड माइक्रो फाइनान्स वित्तीय संस्था, युनाइटेड इदी मर्र्दी, आरबी हाइड्रोपावर लिमिटेड, मैलुङ खोला जलविद्युत् कम्पनी, साहस ऊर्जा लिमिटेडको सेयर मूल्य ५ प्रतिशतदेखि सात दशमलव ५० प्रतिशतले बढेको छ । बढेको नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्था, मेरो माइक्रो फाइनान्स वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २ प्रतिशतदेखि तीन दशमलव १७ प्रतिशतले बढेको छ ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा एक अर्ब ४५ करोड रुपैयाँले बढेको छ । यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २३ स्क्रिप्टको एक करोड २१ लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ५७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । 
 

सुझावित समाचार