विभिन्न ब्रान्डका मदिरा अवैध रूपमा भारतबाट ल्याएर नेपालमा बिक्री–वितरण गर्ने गरेको पाइएको छ। भारतबाट चोरी पैठारी गरी नेपाल ल्याएर मदिराको बिक्री–वितरण गर्दै आएका चारजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साका ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल, काठमाडौं मनोहराका ३० वर्षीय शैलेश पन्त, पर्साका २८ वर्षीय रविन पाख्रिन र सर्लाहीका ३८ वर्षीय नारायणप्रसाद घिमिरे छन्।
महानगरीय अपराध महाशाखाका अनुसार रवि भन्ने भारतीय व्यक्ति र नेपालका सन्तोषचन्द्र बख्रेलको योजनामा भारतबाट राजस्व छली विभिन्न ब्रान्डका मदिराहरू बिक्री–वितरण गरेको खुलेको छ। सन्तोषचन्द्र बख्रेलले तीन महिनाअघि एक सय ६० कार्टुन, त्यसपछि दुई सय कार्टुन र तेस्रोपटक तीन सय कार्टुन ब्ल्याक लेबल, रेड लेबल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याइएको पाइएको छ। बख्रेलले बजारमा बिक्री–वितरण गर्न इन्फिनिटी लिक्योर, मूलपानीका सञ्चालक शैलेश पन्तसँग मिलेर काम गर्दै आएको भेटिएको छ।
त्यस्तै, घिमिरेले ती मदिराहरू ड्युटी फ्रीको हो भनी ग्राहकलाई बिक्री गर्दै आएको प्रहरीले पुष्टि गरेको छ। त्यसरी राजस्व छलेर ल्याएका मदिराहरू पार्टी प्यालेसमा बिक्री–वितरण गर्ने गरेको पनि भेटिएको छ। महाशाखा अनुसार बरामद मदिराको अन्दाजी बजार मूल्य एक करोड पचास लाख पर्छ।
प्रहरीले उपत्यकाको रामकोट, बानेश्वर, कपनलगायतका विभिन्न स्थानबाट दुई सय ९६ कार्टुन मदिरासहित उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको छ।