व्यास गाउँपालिका– ४ स्थायी घर भई महाकाली नगरपालिका ४ मा डेरा गरी बस्दै आएका २१ वर्षीय सुवास कुँवरको महाकाली नदीमा नुहाउने क्रममा मृत्यु भयो । सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाका दुईवटा वडामा दुई सातादेखि खानेपानी नआएपछि उनी नुहाउन महाकाली नदीमा गएका थिए।
माघ महिनाको चिसोमा घाम लागेको देखेर उनी नुहाउन गएका थिए। तर, नुहाउने क्रममा चिप्लिएर उनी महाकालीमा फसे। लगत्तै सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेर अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो।
उनको मृत्यु हुनुमा सहरी खानेपानी योजनाको लापारबाही भएको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायमा ज्ञापन बुझाएका छन्। अहिले महाकाली नगरपालिकाको वडा नम्बर ४ र ५ मा सहरी खानेपानीले हेर्दै आएको छ।
तर, खलंगा डुंगरीबाट जायझुल सडक खण्ड निर्माणको क्रममा दुई सातादेखि खलंगामा खानेपानी आपूर्ति बन्द छ । खानेपानी नहुँदा स्थानीयले खोलाको खान बाध्य छन्।
बृहत् खानेपानी योजनाअन्तर्गत ल्याइएको खानेपानीको लापारबाहीका कारण अहिले पानीको हाहाकार भएको महाकाली नगरपालिका–४ का स्थानीय धर्म दयालीले बताए । उनले भने, ‘१२दिनसम्म हामीले पानी पाएका छैनौँ। अहिलेसम्म खानेपानी समस्याबारे कसैले सुनिदिएनन्। कसैले नसुनेपछि अहिले मिडियामा पुगेका हौँ’।
दुई दिन सशस्त्र प्रहरीले बजारमा खानेपानी सुचारु गरे पनि पुनः पाइप काटिएपछि अहिले खलंगाको बजार क्षेत्र, मोहती, बंगाबगड, मल्लो मोहतीका सयौँ घरमा खानेपानी समस्या भएको छ। यस क्षेत्रका दुई सय बढी परिवार खानेपानीबाट वञ्चित भएका छन्।
स्थानीय चन्द्रा कुँवरले भनिन्, ‘घरमा पानी भएको भए सुवास खोलामा नुहाउन जाने थिएनन्। कहिल्यै नदीमा नजाने मान्छे हो। दुई हप्तासम्म पानी नभएपछि बाध्यताले नुहाउन गएको हो । कोठामा पानी भइदिएको भए उनको ज्यान जाने थिएन्। अहिले खलंगामा पानी नभएकै कारण उनको ज्यान गएको हो। यो जिम्मेवारी खानेपानीले लिनुपर्छ।’
मृतकका आफन्तले बृहत् खानेपानी योजनाले क्षतिपूर्ति दिनुपर्ने र जिम्मेवारी लिनुपर्ने अडान लिएका छन्। महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा बृहत् खानेपानी योजनामार्फत खानेपानी वितरण गरिएको छ।
खलंगा बृहत् खानेपानी योजनाका उपभोक्ता समिति अध्यक्ष जयदेव जोशी सडकको कारण खानेपानी अवरुद्व भएको बताउँछन् । उनले भने, ‘अहिले हामीले सडकको काम बन्द गराएर निरन्तर मजदुर लगाएर खानेपानी सदरमुकाममा ल्याउने प्रयास गरिरहेका छौँ, यसमा हाम्रो दोष छैन।’ सडकका कारण ठाउँठाउँमा खानेपानी पाइप काटिएका कारण ढिलाइ भएको हो ।
यसैबीच, नेकपा एमाले महाकाली नगर कमिटीले सदरमुकाम खलंगामा दुई सातादेखि पानी अवरुद्व भएको विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । नगर अध्यक्ष नरसिह चैसिर नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।