नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार भर्चुअल माध्यमबाट बसेको कार्यसमिति बैठकले १३ पदाधिकारी र २४ केन्द्रीय सदस्यलाई समेटेर कार्यसम्पादन समिति गठन गरेको हो। सभापति शेरबहादुर देउवाले कार्यसमिति बैठक नबसेको अवस्थामा आवश्यक निर्णयको सहजताका लागि पार्टी विधानअनुसार कार्यसम्पादन समिति गठन गरेका हुन्। महामन्त्री गगन थापाले राखेको एक मात्र एजेन्डाका रूपमा रहेको कार्यसम्पादन समिति गठनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो।
कांग्रेस विधानले पदाधिकारी स्वतः पदेन सदस्यका रूपमा रहने व्यवस्था गरेको छ। जसअनुसार केन्द्रीय कार्यसम्पादन समितिमा शेरबहादुर देउवा,उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार स्वत: सदस्यका रूपमा रहेका छन्।
१४औँ महाधिवेशनपछि तेस्रो बैठकमा महामन्त्री थापाले पदाधिकारीबाहेक २४ केन्द्रीय नेताहरूको नाम प्रस्ताव गरेका थिए। जसमा केन्द्रीय सदस्यहरू रामचन्द्र पौडेल,गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा.रामशरण महत, अर्जुनरसिंह के.सी., डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा.शेखर कोइराला, बलबहादुर के.सी., बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा,रेग्मी ,रमेश रिजाल, डा.नारायण खड्का, जिपछिरिङ लामा ,सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्द ढुंगाना रहेका छन्। यसबाहेक बाँकी सदस्य भने पछि थप हुनेछन्।
विधानमा के छ?
कांग्रेसको विधान २०१७ (संशोधनसहित)को दफा २३ मा ४४ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न सक्ने व्यवस्था रहेको छ। विधानमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य रहने व्यवस्था रहेको छ। यसबाहेक सभापतिले कार्यसमिति सदस्यमध्येबाट समावेशी सिद्धान्तका आधारमा ३१ सदस्यको नाम कार्यसमितिको बैठकमा प्रस्ताव गरी बहुमतबाट अनुमोदन गराउनुपर्ने व्यवस्था गरेको छ। यसबाहेक संसदीय दलको नेता पदेन सदस्य हुनेछ र केन्द्रीय प्रवक्तासमेत सदस्य रहने व्यवस्था गरेको छ।
विधानले केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्ने व्यवस्था गरेको छ। त्यस्तै, केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रत्येक महिनामा कम्तीमा एकपटक बस्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। कार्यसम्पादन समितिले कार्यसमिति बैठक नबसेको समयमा आवश्यक निर्णय गर्नेछ।
केन्द्रीय कार्यसम्पादन समितिले के गर्न पाँउछ?
विधानले कार्यसम्पादन समितिलाई कार्यसमितिको बैठक नबसेको समयमा कार्यसमितिको काम गर्ने जिम्मेवारी तोकेको छ। तर, कार्यसम्पादन समितिले गरेका हरेक निर्णय कार्यसमितिको बैठकमा पेस गरी अनुमोदन गराउनुपर्ने विधानमा व्यवस्था रहेको छ। यसबाहेक कार्यसम्पादन समितिलाई पार्टीका केन्द्रीय विभागको कामको समीक्षा गर्ने, समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका संयोजकसँग संयुक्त रूपमा विषयगत छलफलको आयोजना गर्न पाउनेछ।