स्रोत नखुलेको १० लाख रूपैयाँसहित सप्तरीबाट दुईजना पक्राउ परेका छन्। भारतबाट नेपाल रकम भित्र्याएको अभियोगमा सप्तरी प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।
डाक्नेश्वरी नगरपालिका– ५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका– १२ का २४ वर्षीय दिलीपकुमार मण्डललाई अवैध नेपाली १० लाख रूपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ आएको प्रदेश २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा नौ लाख ९० हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
विशेष सूचनाका आधारमा राजविराज–हनुमाननगर सडक खण्डमा अवस्थित छिन्नमस्ता अस्पतालअगाडिबाट उनीहरू पक्राउ परेका हुन्। बरामद भएको रकम र मोटरसाइकलसहित आरोपित दुवैजनालाई थप अनुसन्धानका लागि राजश्व कार्यालय इटहरी बुझाइएको प्रवक्ता काफ्लेले बताए।