साबिक विजेता मच्छिन्द्रलाई शीर्ष स्थानमा चार अंकको अग्रता

सोमबार, ३ माघ, २०७८
डिजिटल संस्करण

दोस्रो स्थानमा रहेको मनाङमस्र्याङ्दी क्लबविरुद्ध साबिक लिग विजेता मच्छिन्द्र फुटबल क्लबले चार अंकको अग्रता लिएको छ, नौ खेलमा मच्छिन्द्रले २३ अंक र मनाङले १९ अंक बनाएको छ 


स्ट्राइकर विमल घर्तीमगरको प्रेरणादायी खेलको सहयोगमा सोमबार साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले ब्रिगेज ब्वाइज क्लबलाई ४–० को फराकिलोअन्तरले हराउँदै सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा स्पष्ट चार अंकको अग्रता लिएको छ । विमलले प्रतिस्पर्धामा दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट गरेका थिए । मच्छिन्द्रको जितमा रेजिन सुब्बा र अभिषेक रिजालले समान एक गोल गरेका थिए । 

लिगको नवौँ चरणसम्म अपराजित रहेको मच्छिन्द्रले शीर्षस्थान बलियो बनाउने क्रममा २३ अंक जोडेको छ । मच्छिन्द्रले सर्वाधिक आठपटकको विजेता मनाङविरुद्ध दोस्रो स्थानमा चार अंकको अग्रता लिएको हो । ब्रिगेडले नौ खेलबाट ६ अंक बनाएको छ । ब्रिगेड १२औँ स्थानमा रहेको छ ब्रिगेडले बलियो मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । पहिलो हाफमा ब्रिगेडले बलियो रक्षापंक्ति मात्र प्रस्तुत गरेन, काउन्टर एट्याक्टमा मच्छिन्द्रलाई दबाबसमेत बनाएको थियो । 

उत्कृष्ट फर्ममा रहेको मच्छिन्द्रले पहिलो हाफमा धेरै राम्रो अवसर गुमाएको थियो । २२औँ मिनेटमा छिरिङ गुरुङको क्रसमा विमलको हेडर क्रसबार माथि गयो । खेलको ३४औँ मिनेटमा ब्रिगेडका इवोडेको हेडिङ क्रसबार माथि गएको थियो । मध्यान्तरअघि निराश देखिएको मच्छिन्द्रले दोस्रो हाफमा सुधारिएको प्रदर्शन ग¥यो । मच्छिन्द्रले मध्यान्तरपछिको ११औँ मिनेटमै गोल गर्न सफल भयो । खेलको ५६औँ मिनेटमा बिग्रेडका गोलरक्षक गुरप्रित सिंहको कमजोर प्रदर्शनमा विमलले मच्छिन्द्रलाई १–० को अग्रता दिलाए ।

रेजिनको क्रस बललाई क्लियर गर्न अगाडि आएको मौकामा बिमलले हेडिङ गोल गरेका हुन् । खेलको ६२औँ मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गरे । उनले गोलरक्षकविरुद्ध वान भर्सेस वानको अवस्थामा गोल गर्दैै मच्छिन्द्रलाई २–० को अग्रता दिलाए । खेलको ८४औँ मिनेटमा विस्थापन खेलाडी रेजिनले मच्छिन्द्रलाई ३–० को स्थितिमा राखे । रेजिनले विमलको राम्रो पासमा गोल गरेका हुन् । खेलको अन्तिम इन्जुरी समयको दोस्रो मिनेटमा अभिषेकले कप्तान सुजल श्रेष्ठको पासमा मच्छिन्द्रको जित ४–० ले पक्का पारे । 

विमलको राष्ट्रिय टोलीमा फर्कने चाहना 

मच्छिन्द्रको जितमा महत्वपूर्ण योगदान गरेका विमलले आफू छिट्टै राष्ट्रिय टोलीमा फर्कने धोको रहेको बताएका छन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा विमलले भने, प्रशिक्षणमा राम्रो गरेर राष्ट्रिय टोलीमा चाँडै पुनरागमन गर्नेछु ।’ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण अफ्रिकी देश मोरिससविरुद्ध राखेको क्लोज क्याम्पको प्रारम्भिक छनोट खेलाडीमा विमल छन् । 

विमलले अहिले आफूमा केही पनि समस्या नभएको बताएका छन् । ‘अहिले पूरै ९० मिनेट खेल्न खासै समस्या आएको छैन,’ उनले भने, ‘विस्तारै राम्रो गर्दै राष्ट्रिय टोलीमा कमब्याक गर्नेछु ।’ घुँडाको चोटबाट मुक्त हुँदै विमल यसै लिगबाट मैदान फर्किएका हुन् । चोटकै कारण विमलले लामो समयबाट राष्ट्रिय टोलीबाट खेलेका छैनन् । नेपालले दशरथ रंगशालामा मोरिससविरुद्ध २९ जनवरी र १ फेब्रुअरीमा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै छ । 

अझै चार खेल बाँकी

मच्छिन्द्रले उपाधि रक्षा गर्न चार खेलको प्रतीक्षा गर्नुपर्ने प्रशिक्षक प्रवेश कटवालले बताएका छन् । ‘अझै पनि चार खेलको प्रतिस्पर्धा गर्नुपर्छ, यही अवस्थामा केही भन्न सक्दिनँ,’ कटवालले भने, ‘लिगमा सहभागी सबै टोलीले राम्रो प्रदर्शन गरिरहेका छन् ।’ मच्छिन्द्र लिगको शीर्ष स्थानमा रहे पनि लिग समाप्त भइनसकेको उनले बताए । ‘लिगमा चार खेल बाँकी छ, हामीले आउने सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।’ ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठ पहिलो हाफमा मच्छिन्द्रलाई रोके पनि मध्यान्तरपछि कमजारी भएको बताए । ‘हामीले मच्छिन्द्रलाई पहिलो हाफमा रोक्न सफल भयौँ, तर मध्यान्तरपछि यही स्तरको खेल भएन,’ श्रेष्ठले भने, ‘दोस्रो हाफमा खेलाडी अलि आत्मविश्वास भए ।’

२० खेलाडीलाई कोरोना संक्रमण

कोरोना भाइरसको मारमा ए डिभिजन लिग पर्न सक्ने संकेत गरेको छ । लिगमा प्रतिस्पर्धा गरिरहेका २० खेलाडीलाई कोरोना संक्रमण भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले च्यासल फुटबल क्लब १९ र मच्छिन्द्रका एक खेलाडीमा कोरोना संक्रमण भएको जनाएको छ । च्यासलका सबैजसो खेलाडी कोरोना संक्रमित भएपछि आइतबार पुलिसविरुद्धको खेल स्थगित भएको छ । नवौँ चरणमा पुलिसले च्यासलविरुद्ध प्रतिस्पर्धा गर्ने खेल तालिका थियो ।

लिगको तालिकामा १३औँ स्थानमा रहेको च्यासलले आठ खेलमा पाँच अंक मात्र जोडेको छ । च्यासल रेलिगेसन जोनमा छ । यसैगरी, पुलिस सात अंकका साथ ११औँ स्थानमा छ । पुलिसलाई रेलिगेसन जोन पर्न सक्ने डर छ । एन्फाका अनुसार रोकिएको खेलको फेरि खेल तालिका आउनेछ । यसबाहेक अन्य खेल पूर्वनिर्धारित मितिमै हुनेछ । नवौँ चरणअन्तर्गत सोमबार न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । 

नवौँ चरणका खेल सुरु हुनुअघि च्यासलका दुईजना खेलाडीलाई कोरोना संक्रमण भएको थियो । च्यासल आठौँ चरणअन्तर्गत मनाङ–मस्र्याङ्दीविरुद्ध प्रतिस्पर्धा गर्न गत साता पोखरा गएको थियो । सो खेलपछि तीन दुई खेलाडीमा संक्रमण देखिएको हो । एन्फाले नवौँ चरणपछि लिगमा एक महिना आराम दिइनेछ । फिफाको अन्तर्राष्ट्रिय ब्रेक तथा मोफसलका प्रतियोगिताका लागि नवौँ चरणपछि एक महिना लिगलाई आराम दिने तयारी एन्फाले गरेको छ ।

सुझावित समाचार