काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएको खेलमा पोखरा एभेन्जर्सलाई चार विकेटले हराउँदै विराटनगर किंग्स तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफनजिक पुगेको छ। प्रतियोगितामा ६ खेल खेल्दा पाँचौँ हारपछि पोखरा भने लगातार तेस्रोपटक प्लेअफबाट बाहिरिएको छ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा अलआउट हुँदा मात्र १३२ रन बनायो। प्रत्युत्तरमा विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाउँदै तेस्रो जित निकाल्यो।
विराटनगरको जितमा ह्याट्रिकसहित ६ विकेट लिएका कप्तान लामिछानेले चार ओभरमा मात्र २७ रन खर्चिए। सन्दीप तेस्रो एनपिएलमा ह्याट्रिक तथा एकै खेलमा सर्वाधिक ६ विकेट लिने पहिलो बलर बनेका छन्। समग्रमा सर्वाधिक ६ विकेट लिने उनी तेस्रो खेलाडी बनेका छन्। यसअघि दोस्रो एनपिएलमा काठमाडौंका साहब आलम र पहिलो एनपिएलमा कर्णाली याक्सबाट खेलेका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए। यस्तै, ह्याट्रिक लिने सन्दीप एनपिएलकै तेस्रो खेलाडी बनेका छन्। यसअघि काठमाडौंका साहब र लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक लिएका थिए।
सन्दीपले खेलको १५औँ ओभरमा लगातार तीन विकेट लिए। १४.३ ओभरमा सेट ब्याटर युवराजसिंह सम्रा, १४.४ मा कप्तान चामिका करुनारत्ने र १४.५ ओभरमा किरण ठगुन्नालाई आउट गर्दै ह्याट्रिक उपलब्धि हासिल गरेका हुन्। यसअघि सन्दीपले पोखराका महत्त्वपूर्ण ब्याटर अर्जुन घर्ती, सन्नी विक र रमेश मेन्डिसलाई आउट गराएका थिए। सन्दीपले रमेश, चामिका र किरणलाई डक आउट गर्दै पेभिलियन फर्काएका थिए। सन्दीपबाहेक एन्जेलो म्याथ्युज, चारिथ असलंका र रुपेश सिंहले समान एक विकेट लिए।
प्रतियोगिताको प्लेअफमा पुग्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब थियो। तर, विराटनगरले बाजी मार्याे। विराटनगर तीन जितसहित ६ अंक जोड्न सफल भयो।
विराटनगर पहिलो खेलमा चितवनसँग आठ रन र दोस्रो खेलमा कर्णाली याक्सँग चार विकेटले पराजित भएको थियो। तर, तेस्रो खेलमा सुदूरपश्चिमलाई ३५ तथा चौथोमा जनकपुर बोल्ट्सलाई दुई रनले हराउँदै कमब्याक गर्न सफल भएको थियो। तर, पछिल्लो खेलमा भने काठमाडौंसँग नाै विकेटले पराजित हुँदा प्लेअफका लागि कुर्नुपरेको थियो।
पोखरा एक जितसहित पुछारमा छ। पोखराले पछिल्लो खेलमा कर्णाली याक्सलाई ६३ रनले हराएको थियो। तर, त्यसअघि सुदूरपश्चिमसँग ६ विकेट, जनकपुरसँग नाै विकेट, लुम्बिनीसँग आठ विकेट तथा चितवनसँग ३० रनले पराजित भएको थियो।
विराटनगरका लागि बसिर अहमदले सर्वाधिक ३७ रन बनाए। उनले ३९ बलमा समान दुई चौका र छक्का हिर्काएका थिए। ओपनर लोकेश बलमा २७ बलमा समान दुई चौका र छक्कासहित ३३ रन जोडे। इसुरु उदानाले १२ बलमा अविजित २५ रन बनाए। सेहान जयसुरिया १७ रनमा अविजित रहे।
यसअघि ओपनर इमरान शेख १०, तेस्रो क्रममा आएका श्रीलंकाका चारिथ असलंका डक आउट भएका थिए। यस्तै, श्रीलंकाकै पूर्वकप्तान एन्जेलो म्याथ्युसले आठ रन बनाउँदा प्रतिश जिसी डक भए।
पोखराका लागि रमेश मेन्डिस र कुशल भुर्तेलले समान दुई विकेट लिए।
यसअघि पोखराको इनिङ्समा २० वर्षीय क्यानेडियन ओपनर युवराजसिंह सम्राले सर्वाधिक ८४ रन प्रहार गरेका थिए। लगातार दोस्रो अर्धशतक बनाउने क्रममा उनले ४७ बलमा सात चौका र पाँच छक्का हान्दै विस्फाेटक ब्याटिङ गरे। उनलाई विराटनगरका कप्तान लामिछानेले इसुरु उदानामार्फत क्याच गराएका थिए। यसअघि उनले प्रतियोगिताको दोस्रो खेलमै कर्णाली याक्सविरुद्ध ऐतिहासिक १०२ रनको इनिङ्स खेलेका थिए। पहिलो खेलमा चितवन राइनोजविरुद्ध भने १९ रन बनाएका थिए।
पोखराको इनिङ्समा धनञ्जय लक्षमले १५ बलमा २२ रन बनाए।
आज नै हुने दोस्रो खेलमा कर्णाली याक्स र शीर्ष स्थानको लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुनेछ।