२०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल ६ माघदेखि, १० टोली सहभागी हुने

सोमबार, २६ पुष, २०७८
डिजिटल संस्करण

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण आउने ६ माघदेखि सुरु हुने भएको छ। प्रतियोगिता आउँदो ६ देखि १५ माघसम्म हुने आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।

‘खेलकुदको विकासमा सहकार्य गर्रौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ,’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराको आयोजनामा तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने भएको हो।                                   

१० टोली सहभागी हुने
प्रतियोगितामा विभागीय, ए डिभिजन, मोफसल, आयोजक र विदेशी गरी १० टोलीको सहभागिता रहने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार प्रतियोगितामा विभागीय टोलीहरू नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबसँगै संकटा क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब र आयोजक सहारा क्लबसँगै विदेशी टोली अमेरिकाको बिवाइएससी मिनेसोटा क्लब सहभागी हुने भएका छन्।

एक करोड ६ लाख खर्च हुने
क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ का अनुसार प्रतियोगिता सञ्चालनका लागि अनुमानित एक करोड ३६ लाख एक हजार रुपैयाँ आम्दानी र अनुमानित एक करोड ६ लाख ४८ हजार पाँच सय रुपैयाँ खर्च लाग्नेछ। प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा पोखरा १७ मा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालनका लागि खर्च गरिने उनले बताए। हाल एकेडेमीमा तेस्राे ब्याचअन्तर्गत १४ जिल्लाका २४ जना बालकहरू आश्रित रहेका छन्।

१९औँ संस्करणबाट १३ लाख ४९ हजार
कार्यक्रममा अघिल्लो वर्ष सम्पन्न १९औँ संस्करणबाट १३ लाख ४९ हजार चार सय ४७ रुपैयाँ ३४ पैसा बचत भएको जानकारी दिइयो। अघिल्लो वर्षको प्रतियोगिता सञ्चालनका लागि ७६ लाख ५० हजार ६ सय ४७ रुपैयाँ ५७ पैसा आम्दानी र ६३ लाख एक हजार एक सय ९९ रुपैयाँ २३ पैसा खर्च भई सो रकम बचत भएको महासचिव अधिकारीले जानकारी दिए। 
 

See More On

सुझावित समाचार