त्रिवेणी कपको उपाधि बुद्ध युथ क्लब भोटेओडारले जित्यो

बुधबार, २१ पुष, २०७८
डिजिटल संस्करण

२९औँ त्रिवेणी कपको उपाधि लमजुङको बुद्ध युथ क्लब (बिवाइसी) भोटेओडारले जितेको छ  बुधबार लमजुङको सदरमुकाम बेँसीसहरको सहजी रंगशालामा भएको फाइनल खेलमा श्री भगवती युवा क्लब टोखा काठमाडौंलाई २–० गोल अन्तरले पराजित गर्दै बिवाइसीले २९औँ त्रिवेणी कपको उपाधि जितेको हो । 

बिवाइसीले पाँच लाख नगदसहित त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र हात पारेको छ भने उपविजेता श्रीभगवती युवा क्लब टोखाले ३ लाख रुपैयाँसहित, रजत पदक र प्रमाणपत्र हात पारेको छ । 

बिवाइसीका सन्दीप रानामगर म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा बिवाइसी भोटेओडारका फकुल्ने आबुयोमी र  श्री भगवतीका अर्मान्ड बिओडानले सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका छन् । 

यस्तै, प्रतियोगितामा भगवतीकै अमित लामाले सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पारेका छन् । आयोजकका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई १५–१५ हजार रुपैयाँ प्रदान गरिएको छ । सेमिफाइनल विजेता आयोजक त्रिवेणी युवा क्लब र  समाज कल्याण युवा क्लब काठमाडौंले नगद ५०–५० हजार रुपैयाँ र प्रमाणपत्र पाएका छन् । 

प्रतियोगितामा देशभरबाट १८ टिमले सहभागिता जनाएका थिए । विजेता टिमलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।
 

सुझावित समाचार