प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ। काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा उडान सामान्य प्रभावित भएको हो। मौसम खराबीले दुवैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए।
उनका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ। अन्तर्राष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ। बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ड भएको थियो। अहिले विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ। मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुन नसकेको जनाइएको छ।
बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए। उनले उडान डिले भए पनि गन्तव्यमा यात्रु पुर्याउन एयरलाइन्स हरसम्भव लागिपर्ने बताए। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।