संघीय सरकारको भौतिक योजना मन्त्रालयले क्याबिनेटबाट निर्णय गराउन ढिलाइ गर्दा प्रदेश १ मा स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालयको पहिलो शैक्षिक सत्र सञ्चालन गर्न ढिलाइ भएको छ । प्रदेश १ सरकारले ०७६ मा स्थापना गराएको मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियू) ले यही मंसिरदेखि सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ स्नातक तहको पढाइ सुरु गर्ने तयारी पूरा गरे पनि मन्त्रालयले फाइल क्याबिनेटबाट निर्णय नगराउँदा समयमा शैक्षिक सत्र सुरु गर्न ढिलाइ भएको हो ।
एमटियुले पाठ्यक्रम निर्माण गरेर इन्जिनियरिङ काउन्सिलबाट पहिलो शैक्षिक सत्र सुरु गराउने सिफारिस पाँच महिनाअघि नै प्राप्त गरेको थियो । नियमअनुसार उक्त सिफारिस संसद्ले निर्णय गर्नुपर्ने भएकोले काउन्सिलले फाइल पाँच महिनाअघि नै संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय पठाइदिएको थियो । तर, भौतिक मन्त्रालयले अझै उक्त फाइल संसदमा पठाएको छैन ।
मन्त्रालय स्रोतका अनुसार पहिले पूर्वमन्त्री वसन्त नेम्वाङले र अहिले रेणु यादवले अध्ययनका लागि भन्दै फाइल आफूसँग राख्दा क्याबिनेटमा पुग्न नपाएको हो । यसैले पाँच महिनादेखि एमटियूको फाइल भौतिक मन्त्रालयमै अड्किरहेको छ । ‘सबै तयारी भए पनि संघीय सरकारको अनुमति नहुँदा मंसिरदेखि सुरु गर्नुपर्ने शैक्षिक सत्र अझै सुरु गर्न पाएका छैनाैँ,’ एमटियूका उपकुलपति डा. सुभाषश्री पोखरेलले भने ।
उपकुलपति डा. सुभाषश्रीका अनुसार अब चाँडै मन्त्रालयले फाइल क्याबिनेटमा लगेर निर्णय गराए पनि शैक्षिक सत्रको प्रक्रिया पूरा पुर्याएर फागुनदेखि मात्र पहिलो ब्याचको पठनपाठन सुरु गर्न पाउनेछ । मोरङको बुढीगंगा गाउँपालिका– ४ हात्तीमुढामा रहेको मनमोहन प्रतिष्ठानमार्फत सञ्चालन हुँदै आएको मनमोहन पोलिटेक्निक शिक्षालयलाई प्रदेश १ सरकारले कानुन निर्माण गरेर ०७६ मा मनमोहन प्रविधिक विश्वविद्यालयका रूपमा स्थापना गराएको हो ।
हात्तीमुढामै केन्द्रीय कार्यालय रहेको देशकै पहिलो यो प्राविधिक विश्वविद्यालयले देशमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न इन्जिनियरिङ र पारामेडिकल अनि प्लान्ट साइन्सअन्तर्गत विभिन्न विषयमा क्रमशः स्नातकदेखि स्नातकोत्तर तहको पठनपाठन गर्ने योजना बनाएको छ । एमटियूले परामेडिकतर्फ मेडिकल ल्याब्रोटोरी टेक्नोलोजी, पब्लिक हेल्थ, अप्टोमेट्री, प्याथोलोजी, फार्मेसी अनि प्लान्ट साइन्सअन्तर्गत एग्रिकल्चर साइइन्स, फोरेस्ट्री र भेटेरेनरी साइन्सलगायतका विषयमा स्नातक तहको शैक्षिक सत्रका लागि भौतिक संरचना निर्माण गरेर पाठ्यक्रम निर्माण गराइसकेको छ ।