हलिउड फिल्म ‘द म्याट्रिक्स रिसुरेक्सन’ शुक्रबारदेखि नेपालका प्रमुख मल्टिप्लेक्समा प्रदर्शनमा आएको छ। किनु रिभ्स, क्यारी एने मोस, प्रियंका चोपडालगायतको अभिनय रहेको फिल्म ‘म्याट्रिक्स’ सिरिजकै पछिल्लो शृंखला हो। शृंखलाको पछिल्लो फिल्म ‘द म्याट्रिक्स रिभोलुसन’ सन् २००३ मा रिलिज भएको थियो।
फिल्मको वितरण नेपालमा आइकोर फिल्म्सले गरेको छ। साइन्स फिक्सन, एक्सन र एड्भेन्चर जनरामा राखिएको फिल्मलाई लाना वाचाओक्सीले निर्देशन गरेकी हुन्। हलिउडमा पछिल्लो समय भिजिनरी निर्देशक मानिने लाना निर्देशित यो फिल्मको मुख्य भूमिकामा रहेका कलाकारहरू रिभ्स र मोस क्रमशः दुई चर्चित पात्रहरू नियो र ट्रिनिटीको भूमिकामा देखिएका छन्।
वार्नर ब्रोज पिक्चर्स स्टुडियोको प्रस्तुति रहेको फिल्मलाई भिलेज रोड सो पिक्चर्सले निर्माण गरेको हो। पछिल्लो समय ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्स अफिसमा उछाल कमाइगरिरहेको वेला रिलिज हुन लागेको ‘द म्याट्रिक्स रिसुरेक्सन’लाई पनि दर्शकले रुचाउने आशा आइकोरले लिएको छ।