लमजुङ प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका एकजनालाई ६ वर्षपछि पक्राउ गरेको छ । एक वर्ष १० महिना कैद सजाय भई फरार रहेका बेंसीसहर नगरपालिका– १ उदीपुर बस्ने ३८ वर्षीय रुकेश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
रुकेशलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले बेंसीसहर नगरपालिका– ८ बाट बुधबार पक्राउ गरेको हो । रुकेशले चलाएको बसले ०७३ साल असार १९ गते चितवनको कुरिनटारमा पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको थियो ।
रुकेशउपर ०७५ साल माघ ८ गते उक्त कैद सजाय हुने गरी चितवन जिल्ला अदालतबाट मुद्दा फैसला भएकोमा उनी फरार रहेका थिए । पक्राउ परेका रुकेशलाई बुधबार जिल्ला अदालत लमजुङमा पेस गरी कैद भुक्तान गर्नका लागि कारागार चलान गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।