सदनमा विपक्षीको लगातार अवरोध

बिहिबार, ८ पुष, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभा अवरुद्ध हुँदा जनतामा निराशा पैदा हुने खतरा भयो : सभामुख

प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद् बैठक अवरोध गरेकोमा सभामुख अग्निप्रसाद सापकोटाले गम्भीर चासो राखेका छन् । लगातार प्रतिनिधिसभा अवरुद्ध हुँदा जनतामा निराशा पैदा हुने खतरा भएको सभामुख सापकोटाको भनाइ छ । नवौँ अधिवेशनभर संसदमा अवरोध गरेको एमालेले २८ मंसिरबाट सुरु भएको दशौँ अधिवेशनमा पनि कामकारबाही रोकेको छ । 

अग्निप्रसाद सापकोटा, सभामुख

लोकतन्त्र पूर्ण पारदर्शी प्रक्रिया र समन्वयिक परिणामको औजार पनि हो । यसलाई लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलोका रूपमा रहेको संघीय संसद्ले अनिवार्य रूपमा बुझ्नुपर्छ ।

दशौँ अधिवेशनअन्तर्गत बुधबार बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध पुर्‍याएपछि लिखित सम्बोधन गर्दै सभामुख सापकोटाले जनताका मुद्दा उठ्ने थलोलाई निरन्तर नरोक्न आग्रह गरेका थिए । माधव नेपालसहितका १४ सांसदमाथिको कारबाहीको सूचना टाँसमा सभामुखले ढिला गरेको दाबी गर्दै एमालेले संसद् अवरोध गरिरहेको छ । 

अवरोधकै कारण लामो समयदेखि संसद्का कामकारबाहीमा प्रभाव परेको छ । विधेयक अधिवेशन भनिए पनि कानुन निर्माण ठप्प छ । सांसदहरूले बोल्न नपाएको कैयौँ दिन भइसक्यो । जरुरी, सार्वजनिक, संकल्पलगायत प्रस्तावमाथि छलफल भएको छैन । मन्त्रीसँग प्रश्नोत्तर पनि रोकिएको छ ।

मंगलबारको बैठकमा सभामुख सापकोटाले संसद्मा दैनिक भएको अवरोधले जनतामा निराशा पैदा भएको भन्दै सुचारु गर्न विपक्ष दलस“ग आग्रह गरे । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरूले ‘बोल्न पाउनुपर्छ’ भन्नुभएको छ । जनताका आवाज मुखरित गर्ने जनताको सर्वोच्च जनप्रतिनिधिसभा अवरुद्ध हुँदा जनतामा निराशाको भाव पैदा हुने खतरा छ,’ सभामुख सापकोटाले भने, ‘बैठक प्रभावकारी बनाउन र सुचारु रूपले सञ्चालन गर्न तपाईंहरूलाई विशेष रूपमा आग्रह गर्दछु ।’

आफ्ना मतभेद सदनको बैठकमै राख्न एमालेसँग सभामुखको आग्रह थियो । ‘बैठकलाई सुचारु रूपमा सञ्चालन गर्ने वातावरण बनाएर आफ्ना कुरा पनि राख्ने, अरूको पनि कुरा सुन्ने लोकतन्त्रको उच्चतम अभ्यासबारे तपाईंहरू बढी जानकार हुनुहुन्छ । मैले स्मरण मात्र गराउन खोजेको हो,’ सभामुख सापकोटाले सदन अवरोध गरिरहेका एमाले सांसदहरूलाई भने । 

झलनाथ खनाल वरिष्ठ नेता, एकीकृत समाजवादी

संसद् बन्द गरेर एमालेले राष्ट्रलाई अराजकताको खाडलतिर लैजाने धुन्धुकारी प्रवृत्ति देखायो ।

सभामुख सापकोटाले एमाले सांसदहरूलाई संसद्को जिम्मेवारी पनि सम्झाएका थिए । परिस्थिति र परिवेश सधैँ एकै नरहने उनको भनाइ थियो । ‘लोकतन्त्र सिद्धान्त मात्रै नभएर पूर्ण पारदर्शी प्रक्रिया र समन्वायिक परिणामको औजार पनि हो । यस सिद्धान्तलाई लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलोको रूपमा रहेको संघीय संसद्ले अनिवार्य रूपमा बुझ्नुपर्छ,’ सभामुख सापकोटाले भने, ‘परिस्थिति र परिवेश सधैँ एकै रहँदैन । समसामयिक रूपमा परिस्थितिअनुकूल राष्ट्रिय हितलाई ध्यानमा राखी कार्यसम्पादन गर्नु र सरकारलाई गर्न लगाउनु सदनकोे प्रमुख कर्तव्य पनि हो ।’ उनले सहज सभा सञ्चालनमा सहयोग गर्न सांसदहरूको ध्यानाकर्षण गराए । 

एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेका गतिविधि धुन्धुकारी प्रवृत्ति भएको टिप्पणी गरे । ‘संसद् जनता र राष्ट्रका आवाज उठाउने थलो हो । राष्ट्रका महत्वपूर्ण नीति, कार्यक्रम, बजेट, ऐन, कानुन, संकल्प निर्माण गर्ने थलो होे । तर, यो थलोलाई बन्द गरेपछि राष्ट्र कसरी चल्छ ? राष्ट्रलाई अराजकताको खाडलतिर लैजाने धुन्धुकारी प्रवृत्ति देखियो,’ खनालले भने । 

जसपा नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद् बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि भएको प्रतिक्रिया दिए । ‘प्रमुख प्रतिपक्षी दलले सदनमा आफ्नो असहमति राख्ने हो, अवरोध गर्ने होइन । कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय मुद्दा होइन । आफ्नो पार्टी फुट्यो भन्ने निहुँमा यसरी बन्धक बनाउनु बिल्कुल गैरलोकतान्त्रिक हो । यसले लोकतन्त्रलाई गम्भीर घात पुर्‍याउँछ । अनिश्चित ढंगले संसद्लाई बन्धक बनाउने हो भने लोकतन्त्र कसरी चल्छ ?’ भट्टराईले प्रश्न गरे । 

डा. बाबुराम भट्टराई नेता, जसपा

आफ्नो पार्टी फुट्यो भन्ने निहुँमा संसद्लाई यसरी बन्धक बनाउनु गैरलोकतान्त्रिक हो । 

बैठकपछि पत्रकारहरूसँग संक्षिप्त बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले संसद्को जारी अवरोध खुलाउन सरकारले प्रयास गरिरहेको बताए । ‘अवरोध छ । संसद्को अवरोध हटाउन सरकारले प्रयत्न गरिरहेको छ,’ उनको भनाइ थियो ।

राप्रपा सांसद राजेन्द्र लिङ्देनले पनि प्रतिनिधिसभा अवरुद्ध हुँदा जनताको आवाज राख्न नपाएकोमा गुनासो गरे । ‘संसद् चल्न सकेको छैन । जनताको आवाज उठाउने थलो हो, संसद् । सरकार र प्रतिपक्ष दुवै गम्भीर भएका छैनन् । यो दुःखदायी कुरा हो । सरकार र सभामुखको पहलबाट संसद्को अवरोध चाँडो खुलाउनुपर्छ,’ उनले भने । 

सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको एमाले सांसद घनश्याम खतिवडाको भनाइ थियो । उनले भने, ‘सभामुखले निर्णय गर्नुहुन्छ भन्ने वेलासम्म हामी अदालत गएनौँ । उहाँले पक्षपातपूर्ण व्यवहार गरेपछि हामी न्यायका लागि गएका हौँ । उहाँले एउटै संसद्भित्र पक्षपातपूर्ण व्यवहार गर्नुभएको छ ।’ 

बुधबारकोे बैठकमा पनि एमाले सांसदले नाराबाजी गर्दै ‘बेल’ घेर्न पुगेका थिए । अवरोधबीच बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश स्वीकृत गरेको छ । अर्को बैठक दश दिनपछि बोलाइएको छ ।

दश दिन धकेलियो संसद् बैठक : विपक्षसँग द्विपक्षीय र बहुपक्षीय संवाद गर्ने

संसद्मा जारी अवरोध खुलाउन अनौपचारिक गृहकार्यसमेत गर्ने गरी संसद्को बैठक दश दिनका लागि स्थगित गरिएको छ । योसँगै एमसिसीको मुद्दा पनि कम्तीमा यति नै दिनका लागि धकेलिएको छ । संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल एमालेसँग औपचारिक र अनौपचारिक रूपमा छलफल अघि बढाउने तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले त्यसका लागि पहल थालेका छन् । 

ज्ञानेन्द्र कार्की सरकारका प्रवक्ता

संसद्को जारी अवरोध खुलाउन सरकारले प्रयास गरिरहेको छ । 

बुधबार प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा एमालेसँग सबै पक्षले छलफल गरेर संसद् सुचारु गर्न पहल गर्ने सहमति भएको थियो । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विपक्षीस“ग द्विपक्षीय र बहुपक्षीय संवाद गरेर संसद् सुचारु गर्न प्रयास गर्ने तयारी भएको बताए । एमालेसँग छलफल गर्न कार्यव्यवस्था परामर्श समितिले पनि भूमिका खेल्ने सहमति भएको छ । 

‘अहिलेको गतिरोध अन्त्य गर्न औपचारिक–अनौपचारिक तरिकाले छलफललाई अघि बढाउन प्रयत्न गर्ने भन्ने छ । एकपक्षीय, बहुपक्षीय छलफल गर्ने सहमति भएको छ । सभामुख, मन्त्री, प्रधानमन्त्रीले ‘इनिसियसन’ लिने कुरा पनि आएको छ,’ कार्यव्यवस्था समितिको बैठकबारे प्रवक्ता पाण्डेले भने । बैठकमा सभामुख सापकोटाले आफूले पनि प्रधानमन्त्रीसँग समेत छलफल गरेर गतिरोध अन्त्य गर्न पहल गर्ने बताएका थिए । ‘१८ गते बैठक बस्ने भएपछि हामीसँग समय हुन्छ । गतिरोध अन्त्य गर्नेबारे म प्रधानमन्त्रीलाई पनि भेटेर छलफल गर्छु । म सबै पक्षसँग छलफल गर्न तयार छु,’ बैठकमा सभामुख सापकोटाको भनाइ थियो । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले पनि सरकारको तर्फबाट आफूले अधिकतम प्रयत्न गर्ने बताएका थिए । त्यसअघि संसद्को गतिरोध अन्त्य गर्न गत आइतबार सर्वदलीय बैठकसमेत बोलाइएको थियो । तर, एमाले उपस्थित भएन । नेकपा (एकीकृृत समाजवादी) उपस्थित भएकोे ठाउँमा एमाले सहभागी हुन मानिरहेको छैन । अघिल्लो अधिवेशन (२८ भदौ)मा सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले उपस्थित भएको थिएन ।

एमालेसँग सहमति गरेर सदनलाई सुचारु गर्न सरकारको तर्फबाट प्रयासहरू भएका थिए । सोमबार नयाँ पत्रिकासँगको अन्तर्वार्तामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बडूले विभिन्न माध्यमबाट प्रमुख प्रतिपक्षसँग छलफल भइरहेको जानकारी दिएका थिए । बुधबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले पनि संसद्को अवरोध हटाउन सरकारले प्रयत्न गरिरहेको बताएका थिए । 

प्रतिनिधिसभाको बैठक तत्काल नराख्न दलहरूले अनुरोध गरेका कारणले पनि बैठक दश दिन पछि सरेको हो । आगामी बैठकबारे प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको थियो । अन्य मिटिङहरूमा व्यस्त हुनुपरेको भन्दै एमाले उक्त बैठकमा उपस्थित भएन । तर, ८ गते बैठक नराखिदिन सभामुखलाई एमालेले सन्देश पठाएको थियो । प्रदेश कमिटीका बैठक बस्नुपर्ने भएकाले बैठक सारिदिन एमालेको आग्रह थियो । त्यस्तै, माओवादीले ११–१३ सम्म राष्ट्रिय सम्मेलन हुने भएकाले बैठक नराखिदिन सभामुखसँग आग्रह गरेको थियो ।

See More On

सुझावित समाचार