वरिष्ठ साहित्यकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास ‘एक चिहान’को मञ्चन सुरु भएको छ। कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको उक्त उपन्यासलाई नाट्य रूपान्तरण गरी शनिबारदेखि जमलस्थित राष्ट्रिय नाचघरमा देखाउन थालिएको हो ।
सांस्कृतिक संस्थानले विभिन्न तहका पाठ्यक्रममा समावेश भएको कृतिहरूलाई नाटक मञ्चन गरेर विद्यालय शिक्षालाई फरक ढंगले सहयोग गर्न सो उपन्यासलाई नाट्यमा रूपान्तरण गरी मञ्चन गरेको हो। उपन्यास तत्कालीन समयमा नेपाल खाल्डो अर्थात् काठमाडौं उपत्यकाको नेवारी किसानको जीवन परिवेशमा आधारित छ। सामाजिक जागरण र प्रगतिशील विचार यस उपन्यासमा रहेका छन्। सांस्कृतिक संस्थानका वरिष्ठ कलाकारहरूको अभिनय रहेको नाटकलाई कलाकार वीरेन्द्र हमालले निर्देशन गरेका छन्।
विसं २०१०/११ सालको काठमाडौं उपत्यकाभित्रका नेवार किसान परिवारमा केन्द्रित रहेको सो नाटकमा जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वासबारे देखाइएको छ। नाटकको अन्त्यमा त्यही समाज आदर्शउन्मुख रहेको कुरालाईसमेत प्रस्तुत गरिएको छ। अन्त्य दुःखान्त भए पनि विचारले समाज सुधार र रूपान्तरणमा भूमिका खेल्न सक्छ भन्ने सन्देश यस नाटकमा देखाउन खोजिएको छ।