तमोर करिडोर निर्माण अन्तिम चरणमा

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

धनकुटाको मूलघाट हुँदै ताप्लेजुङको ओलाङचुङगोलाबाट चीनको रिउ जोड्ने तमोर करिडोर सडकको ट्र्याक खुल्न दुई किलोमिटिर मात्र छ । ०६६ सालबाट सुरु भएको धनकुटाको मूलघाट हुँदै ओलाङचुङगोला जाने तमोर करिडोरको ट्रयाक निर्माणकार्य अन्तिम चरणमा पुगेको ताप्लेजुङ– ओलाङचुङगोला सडक आयोजना ताप्लेजुङका सूचना अधिकारी तथा इन्जिनियर माधव पौडेलले जानकारी दिए ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–२ मा रहेको मूलघाट हुँदै पाँचथरको लुबुघाट, माझीटार, ताप्लेजुङ हुँदै ओलाङचुङगोलाबाट नेपाल र चीनको सिमाना तिप्तला भञ्ज्याङसम्मको सडकका लागि ट्रयाक खोल्ने कार्य जारी छ । तमोर करिडोर सडकलाई ब्लक–ब्लक छुट्याएर धनकुटा, पाँचथर, ताप्लेजुङ तीनै जिल्लाबाट टेन्डर प्रक्रियामार्फत काम अगाडि बढाइएको छ । 

०६५ सालमा डा. बाबुराम भट्टराई अर्थमन्त्री भएका वेला एक करोड ५० लाख बजेट छुट्याएर सडक डिभिजन कार्यालय धनकुटाले तमोर करिडोरको विस्तृत सर्भे सुरु गरेको थियो । अहिले मूलघाटदेखि ताप्लेजुङ हुँदै ओलाङचुङगोलासम्मको सडक निर्माण आयोजना ताप्लेजुङ– ओलाङचुङगोला सडक योजना ताप्लेजुङले हेर्दै आएको छ । यता मूलघाटदेखि चतरासम्मको सडक आयोजना भने मध्यपहाडी आयोजना पूर्वी खण्डले हेर्दै आएको सडक योजना सूचना अधिकारी पौडेलले बताए ।

तमोर करिडोर सडक मध्यपहाडी लोकमार्गसँग पनि जोडिएको छ । तमोर करिडोर सडक धनकुटाको मूलघाटदेखि ओलाङचुङगोलासम्म एक सय ९१ किलोमिटर छ भने विराटनगरमा रहेको रानी भन्सारदेखि चीनको सिमाना ओलाङचुङगोलाको तिप्ताला पुग्न तीन सय १० किलोमिटर रहेको सूचना अधिकारी पौडेलले बताए । 

मध्यपहाडी आयोजना पूर्वीखण्डले हेर्दै आएको सडकमध्ये एक सय ४० किलोमिटर सडकको चौडा निर्माण गरी ग्राभेल गर्ने कार्य भइरहेको छ । बाँकी सडक निर्माणका लागि पनि टेन्डर आह्वान गरी आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ ।   

तमोर करिडोरलाई सुरुमा मूलघाटदेखि ओलाङचुङगोलासम्म जोड्ने लक्ष्यका साथ अगाडि बढाएको थियो । अहिले त्यसलाई विस्तार गरेर मूलघाटबाट छिन्ताङको त्रिवेणी हुँदै अरुण पार गरेर दूधकोसीको किनारैकिनार उदयपुरको घुर्मी जोड्ने लक्ष्य राखिएको छ । त्यसो गर्न सकिएमा पूर्वी पहाडी ७ जिल्लाालाई तमोर करिडोरले जोड्नेछ । तमोर करिडोर सडक निर्माणअन्तर्गत अहिलेसम्म करिब दुई अर्ब रुपैयाँ खर्च भइसकेको छ । अहिले पनि एक अर्ब २० रुपौयाँको काम भइरहेको छ ।   

तमोर करिडोर सडक निर्माण भएपछि पूर्वी पहाडी चार जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङलाई १५ किलोमिटर दूरीको आसपासमा जोडिन्छ । त्यति मात्र होइन, काठमाडौं आवतजावतका लागि पनि छोटो दूरी पर्छ । 

सुझावित समाचार