स्थायी राजधानीमा सर्‍यो लुम्बिनीको स्वास्थ्य मन्त्रालय

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले स्थायी राजधानी भालुवाङबाट सेवा सुरु गरेको छ । मन्त्रालयले बुधबारदेखि सिसहनियाबाट सेवा सुरु गरिएको हो ।

बुधबार मन्त्री इन्द्रजित थारूले भालुवाङमा आयोजित कार्यक्रममा सेवा थालनी गरे । त्यस अवसरमा उनले केही समयमा सबै मन्त्रालय दाङ ल्याइने दाबी गरे । मन्त्री थारूले संघीय र प्रदेश सरकारको नीतिअनुसार सबै पालिकामा १५ शड्ढयाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु भएको समेत जानकारी दिए । 

मन्त्रालयले स्वास्थ्य सेवामा मध्यकालीन तथा दीर्घकालीन रणनीतिका साथ काम गरिरहेको धारणा व्यक्त गरे । उनले कोभिडको तेस्रो भेरियन्टबाट नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले संघीय सरकारसँग खोपको व्यवस्था गर्न पहल गरिरहेको समेत दाबी गरे । 

स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले स्थायी राजधानीबाटै सेवा सुरु भएसँगै प्रदेशका सबै नागरिकले सहज ढंगले सेवा पाउने बताइन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य मन्त्रालय सेवामूलक मन्त्रालय भएकाले सेवा दिने काममा कमी नहुने धारणा राखे ।

साथै, उनले निर्देशनालय, आपूर्ति, तालिम र प्रयोगशाला कार्यालयको छिटो प्रबन्ध गर्दै मन्त्रालयलाई पूर्ण रूपमा सेवा दिन तयार बनाइने बताए । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले स्थायी राजधानीमा संरचना ल्याउन आफूहरूले जोखिम मोलेर भए पनि सहयोग गरेको दाबी गरे । 
 

सुझावित समाचार