नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिमा पराजित भए पनि आफूहरूले उठाएका एजेन्डाहरू स्थापित भएको बताएका छन्। निर्वाचनमा शेरबहादुर देउवासँग पराजित भएका कोइरालाले बुधबार प्रज्ञा भवनमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रा राजनीतिक मुद्दाहरू र एजेन्डाहरू स्थापित भएका छन्। सँगसँगै युवा पुस्ताको लागि नेपाली कांग्रेसभित्र अवसरै अवसर हामीले खोलिदिएका छौँ। म आजैदेखि नेपाली कांग्रेसको रूपान्तरणको लागि लागिसकेको छु।’
पार्टीभित्रको प्रतिस्पर्धामा कसले के गर्यो या किन गर्यो भन्नेमा कुनै कुण्ठा नभएको पनि उनले बताए। पार्टीमा युवा पुस्ताका लागि अवसरको बाटो खोलेको बताउँदै कोइरालाले भने, ‘म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणको लागि लागिसकेको छु। निरन्तर रूपमा तपाईंहरूको घरदैलोमा पुग्नेछु। हामीहरू भागबन्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौँ।’