नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी सभापतिमा पुनर्निर्वाचित शेरबहादुर देउवालाई गुटको मात्र नभई पार्टीको नेता बन्न आग्रह गरेका छन्। सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका शेखर कोइरालाद्वारा प्रज्ञा भवनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, ‘सभापतिमा पुनर्निर्वाचित शेरबहादुर देउवाजीलाई म आग्रह गर्न चाहन्छु कि उहाँले गुटको नेतृत्व गर्ने होइन । सिंगो पार्टीको नेता बन्नका निम्ति आग्रह गर्दै सफलताको शुभकामना दिन चाहन्छु।’
भण्डारीले महाधिवेशनमा ‘मनी र मसल’ प्रयोग नभएको भए शेखर कोइराला सभापतिमा विजयी हुने दाबीसमेत गरे।
१४औँ महाधिवेशनमा आफूहरूको विचारको जित भएको बताउँदै शेखर कोइरालाको नेतृत्वमा आजैदेखि १५औँ महाधिवेशनका लागि अघि बढ्ने पनि उनले बताए ।
महाधिवेशनमा आफूहरूको विचारको जित भएको र आफूहरूको दृष्टिकोणहरू विलय नहुने उनको भनाइ थियो।