विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गर्न लागेको फिल्म ‘म’को शुभ साइत गरिएको छ। सोमबार एकेडेमीकै परिसरमा फिल्मको शुभ साइत गर्दै आगामी पुष ११ गतेबाट छायांकन सुरु हुने जानकारी गराइयो। फिल्मको २ वर्षअगाडि निर्माण घोषणा गरिएको भए पनि कोरोनाका कारण छायांकन सुरु हुन सकेको थिएन।
समीक्षात्मक रूपमा सफल फिल्म ‘सुनगाभा’का निर्देशक सुवर्ण थापाले ‘म’ को निर्देशन गर्नेछन्। फिल्मको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओसमेत रहेका प्रकाश पुरीले लेखेका छन्। फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुबिना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहनेछ।
त्यस्तै, फिल्ममा बनिस शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ। पदम पुरी सहनिर्माता र विमला हुमागाईं निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन्। निर्देशक सुवर्ण थापाले फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथा भन्ने जानकारी दिए। फिल्मको कथा अत्यन्त बलियो रहेको उनको दाबी छ।
अभिनेता खनालले फिल्मको नाम ‘म’ भए पनि समाजभित्रको कथा भन्ने बताएका छन्। उनले भने, ‘यो फिल्मले समाजभित्रको कथा भन्छ। फिल्म हेर्दा दर्शकहरूले आफ्नै कथा पाउनुहुनेछ। यस अर्थमा यो फिल्म समाजको ऐना हो।’