ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्नेमा जोड दिएकी छिन्। बिहीबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय क्षेत्रको अग्रगमनका लागि ऊर्जाका सबै क्षेत्रमा जलविद्युत्को खपत बढाउनुपर्ने बताइन्।
मन्त्री भुसालले जनतामा दुई वर्षभित्रै विद्युतीकरण गर्ने सरकारको नीति रहेको भन्दै यसमा सामुदायिक विद्युत उपभोक्ता महासंघले सहयोग गर्नेमा विश्वास व्यक्त गरिन्। ‘सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत उत्पादन गर्न पाउने अवसरले हामी अब घरायसी प्रयोगमा पर्याप्त विद्युत उपलब्ध गराउने स्थितिमा छौँ। अहिले एकातिर हामी आम जनतामा २ वर्ष भित्रै विद्युतीकरण गर्ने सरकारको नीति छ । त्यसमा सामुदायिक विद्युत् उपभोक्ता महासंघ पनि सहयोगी नै हुनेछ। जहाँ केन्द्रीय प्रशारण लाइन पुग्ने छैन त्यहाँ सामुदायिक विद्युत उपभोक्ता महासंघमार्फन् त्यो अभियान पूरा गर्नेछौँ,’ उनले भनिन्।
मन्त्री भुसालले कतिपय सामुदायिक संस्थाहरुले समयमै विद्युत भुक्तानी नगरेको, विनियमावलीले तोकेकोभन्दा बढी क्षमताको लोड स्वीकृति गरेको र समयमै ग्राहकहरूको समस्या समाधान नगरेको गुनासो मन्त्रालयमा आइरहेको भन्दै केही सामुदायिक संस्थाका उपभोक्ताले आफूलाई संस्थाबाट अलग बनाई प्राधिकरणबाट सेवा दिन अनुरोध गरिरहेको बताइन्।