राप्रपा बैठकमा लिङ्देनले भने– निर्मलनिवासका बिषयमा छलफल हुन सक्दैन

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र राजसंस्थाको नकारात्मक छवि प्रस्तुत हुने गरि छलफल नहुने स्पष्ट पारेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा लिङ्देनले आन्तरिक निर्वाचनमा महाधिवेशन प्रतिनिधिको विवेक प्रयोग भएको उल्लेख गर्दै मर्यादित संस्थाको मानहानी हुने गरि छलफल हुन नसक्ने बताएका हुन् । बैठकमा पूर्वअध्यक्ष कमल थापा निकट केन्द्रीय सदस्यले पार्टीमा निर्मलनिवासको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका थिए । 

पहिलो बैठकमा पूर्वअध्यक्षद्वय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङलगायतले सम्बोधन गर्दै सबैपक्ष मिलेर अघि बढ्नुपर्ने बताएका थिए । अध्यक्ष लिङ्देनले समान बिचारधारा भएका समूहसँग वार्ता, नेताहरुको मर्यादाक्रम, लेवी, स्थानीय तहको निर्वाचन तयारी लगायतका एजेन्डा प्रस्तुत गरेका थिए । 

उनले एजेन्डा प्रस्तुत गरेपछि थापा पक्षीय केन्द्रिय सदस्य राजाराम बर्तौलाले निर्वाचनमा निर्मल निवासको हस्तक्षेप भएको, राजसंस्थाले साझा र तटस्थ भूमिका निर्वाह नगरेको आरोप लगाउँदै पार्टीले छानविन गरेर निरुपण गर्नुपर्ने माग राखे । उनलाई बिजय खड्का, रिता माझी, जमुना थापालगायतले समर्थन गरे । 

तर, लिङ्देन पक्षीय केन्द्रीय सदस्य प्रकाश रिमालले यसबारे प्रतिवाद गरेका थिए । रिमालको भनाई थियो, ‘तपाई (थापा पक्ष) कि त गणतन्त्रमा जाने कुरा गर्नुहोस्, होइन भने यस्ता भ्रमपूर्ण कुरा नगरौँ । महाधिवेशन प्रतिनिधिको मतमाथि प्रश्न उठाउने हक कसैलाई पनि छैन ।’ 

रिमालसँगै सगुन सुन्दर लावती, प्रवीण ठोकर, सुनीता शाहलगायतका नेताले निर्वाचनमा भएको हार स्वीकार नगरि निर्मलनिवासमाथि आरोप लगाउनु आपत्तिजनक हुने भन्दै बैठकमा छलफल हुन नसक्ने बताए । 

सबैले बोलेपछि लिङ्देनले भने, ‘राप्रपाको बैठकमा राजसंस्थाबारे नकारात्मक ढंगबाट छलफल हुन सक्दैन । शंका लागेको हो भने निर्वाचन प्रक्रियाकै बेला बोल्नुपथ्र्यो । निर्वाचन परिणाम आइसकेको छ । अब यो विषयमा छलफल हुँदैन ।’ 

एकतादेखि स्थानीय निर्वाचनका लागि चार समिति गठन
राप्रपाले समान बिचारधारा बोकेका राजनीतिक तथा धार्मिक समूहसँग एकता र सहकार्यका लागि वार्ता गर्न महामन्त्री डा. धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । समितिमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य छन् । 

नेताहरुको मर्यादा क्रम निर्धारणका लागि उपाध्यक्ष ध्रुबबहादुर प्रधानको नेतृत्वमा डा. राजेश गिरी र भरत पाठक सदस्य रहेको समिति गठन गरेको छ । स्थानीय तह निर्वाचन परिचालनका लागि महामन्त्री भुवन पाठकको नेतृत्वमा समिति गठन गरेको छ । समितिमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र डा. गीताभक्त जोशी सदस्य सचिव छन् । यसैगरि, पार्टीमा लेवि निर्धारणका लागि महामन्त्री कुन्तिकुमारी शाहीको नेतृत्वमा समिति गठन भएको राप्रपाले जनाएको छ । 

राप्रपाले पार्टीका सबै भातृ संगठनहरूलाई तीन महिनाभित्रमा अनिवार्य रुपले महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना र कार्यतालिका पेश गर्न निर्देशन दिएको छ । यसका लागि १५ दिनको समयसीमा तोकिएको छ । राप्रपाले आगामी पुसभित्र सबै प्रदेश कार्यसमितिहरुलाई विस्तारित बैठक बोलाउन पनि निर्देशन दिएको छ । 

बैठकले पार्टीमा निष्क्रिय रहेका, अर्को पार्टीमा गएर भूमिकाविहिन भएका नेताहरुलाई परिवर्तित सन्दर्भमा राप्रपामा फर्कन र सक्रिय रहन आह्वान समेत गरेको महामन्त्री डा. राणाले जानकारी दिए ।

सुझावित समाचार